‘ऊनको स्वीटर’ ले भारतमा पनि मनायो ५१ दिन

हिमाल प्रेस २७ पुष २०८२ ११:१४ | Sunday, January 11, 2026
30
SHARES
‘ऊनको स्वीटर’ ले भारतमा पनि मनायो ५१ दिन

काठमाडौँ- नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारत विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ।

जसमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्।

नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गरेको फिल्मले भारतमा पनि सशक्त उपस्थिति जनाएको भन्न सकिन्छ। आर्टमान्डु नेपाल प्रा.लि.ले निर्माण गरेको फिल्मको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो। प्रारम्भिक शोहरूबाट फिल्म हाउसफुल चलेको थियो।

गान्तोकबाट सुरु भएको यात्राले नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनायो। त्यसपछि आसामका गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणान्चल प्रदेशको ईटानगरसम्म विस्तार भयो। कोलकाताका हलहरूमा फिल्मले आफ्नै दर्शक वर्ग बनाएको छ भने दिल्लीमा नयाँ दर्शक पायो।

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो। केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले बताएका छन्।

पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानले बताए। ५१ दिनको सफलतापछि उनले भनेका छन्, ‘नोभेम्बर २१ बाट सुरु भएको यात्राले पहिला हिमाल छोयो, त्यसपछि पूर्व, दक्षिण, पश्चिम र उत्तर भारतसम्म फैलियो। भाषा फरक थियो, तर अनुभूति एउटै रह्यो।’

फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल लगायत कलाकारको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूहले प्रदर्शन गरेका हुन्। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए।

निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि.ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली फिल्मलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २७ पुष २०८२ ११:१४ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast