काठमाडौँ- नेपाली कांग्रेसले फेरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सोमबार दिउँसो १ बजे बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक बस्ने जानकारी दिए। उनले बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको बताए।
यसअघि शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्ने बहुमतले निर्णय गरेको थियो।
काम हुन नसकेको भन्दै पुस २६ का लागि तोकिएको महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै कार्यसम्पादन समिति बैठकले वैशाखको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो।
फागुन २१ को चुनावपछि महाधिवेशन गर्नेगरी कार्यसम्पादन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। चुनावपछि र चुनावअघि विशेष महाधिवेशन गर्ने विवाद बढ्दै गएपछि कांग्रेसको महाधिवेशनको विषय झनै पेचिलो बन्दै गएको छ।
बहुमतका साथ गरिएको यो निर्णयप्रति आपत्ति जनाउँदै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माका साथै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका पाँच जना नेताले फरक मत राखेका थिए।
महामन्त्रीद्वय थापा र शर्मालगायतका नेताहरू पुसभित्र नियमित महाधिवेशन सम्भव नभएकोले विशेष महाधिवेशन गर्ने अडान लिएका छन्।
महामन्त्री थापाले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेकाले विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरेका छन्।
उनले पुस मसान्तभित्रै विशेष महाधिवेशन हुने र यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई चाँडै निम्तो जाने समेत बताएका छन्।
संस्थापन भनिएका महामन्त्रीहरू विशेष महाधिवेशनको अडानबाट पछि हट्न तयार नभएपछि यतिबेला कांग्रेस विभाजित बनेको छ। संस्थापनका साथै नेता डा.शेखर कोइराला पक्षधरले बहुमतको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।
शनिबार बसेको कोइरालापक्षीय नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहमान्त्री जीवन परियारले विशेष महाधिवेशन गराएरै छाड्ने अडानबाट महामन्त्रीहरू पछाडि हट्नुपर्ने बताएका थिए।
विशेष महाधिवेशन जसरी पनि गर्न महामन्त्रीहरूको अडान पार्टीको नभइ व्यक्तिगत भएको उनको भनाइ छ।
परियारले पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकाले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा जोड दिए। पार्टीमा सबै नेताहरूको एउटै विचार नहुने भन्दै उनले पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने बताए।
पार्टीको निर्णय तित्त नबुझे नेता कार्यकर्तामाझ आफ्नो मुद्दा बोकेर जान सकिने परियारले बताए।
उनले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरूले गरेको निर्णय नै सत्य र सही हुने दाबी गर्न नहुने जिकिर गरे।



