काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन्। आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।
उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधि सभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
यस्तो छ खर्च सीमा
आयोग स्रोतका अनुसार काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ ।
२७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् ।
आयोग स्रोतका अनुसार ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् ।
यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ छन् । यी निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र शेरबहादुर देउवा उम्मेदवार रहँदै आएका छन् ।
३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २ छन् । गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २ सल्यान १ का उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।
हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि ३३ लाख खर्च गर्न पाउनेछन् । आयोगले उम्मेदवारका लागि निर्वाचन आचारसंहिता तोकिसकेको छ । उम्मेदवारले भड्किलो प्रचार गर्न पाउने छैनन् ।




