सुर्खेत- गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव तोकिएकै मितिमा हुने बताएका छन्। वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले निर्वाचन आगामी फागुन २१ मै हुनेमा कुनै द्विविधा नभएको बताएका हुन्।
उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार संविधानको संरक्षण र राष्ट्रिय सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताए। ‘जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दाहरूलाई सम्बोधन गरिएको छ, आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजीहरूलाई सहिद घोषणा गरिएको छ,’ उनले भने।
पछिल्लो समय राजनीतिक दलहरूले जेनजी पुस्तालाई समेट्न थालेकोमा उनले खुसी व्यक्त गरे। साथै उनले राष्ट्रिय सुरक्षामा थप चुनौती आउन नदिने प्रतिबद्धता जनाए।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा लगाउने सोच त्याग्न सुझाव दिएका छन्। उनले निर्वाचनको विषयमा अझै संशय रहेको भन्दै दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने धारणा राखे।
‘सुरक्षाकर्मी साथीहरू एकप्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्योल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला?,’ उनले प्रश्न गरे।
मुख्यमन्त्री कँडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने धारणा राखे।




