रवि-बालेन भेट : सम्भावनाको राजनीति र अविश्वासको यथार्थ

हिमाल प्रेस ८ पुष २०८२ १९:४९
112
SHARES
रवि-बालेन भेट : सम्भावनाको राजनीति र अविश्वासको यथार्थ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार भएको चार घण्टा ४५ मिनेट छलफल निष्कर्षविहीन बनेको छ। सोमबार साँझ आठ बजेदेखि मंगलबार बिहान पौने १ बजेसम्म चलेको छलफलमा रविले आफ्नै बखान गरेपछि निष्कर्षविहीन भएको बालेन निकट स्रोतले जानकारी दिएको हो।

सहकारी प्रकरणमा जेल सजाय भोगिरहेका रविले मुक्त भएको केही दिनमा बालेनसँग राजनीतिक छलफल गरेको घटनालाई अर्थपूर्ण मानिएको थियो। तर रास्वपाले ठोस प्रस्ताव नल्याएका कारण छलफल निष्कर्षमा पुग्ने सकेन।

उनीहरूबीच पुराना दलको दबदबा कम गर्न नयाँ दलहरू मिलेर जाने विषयमा छलफल भएको थियो। बालेनले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा एक भएर जाँदा युवाले मुलुकको नेतृत्व गर्ने अवसर आउने बताएका थिए।

रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवासमा छलफल भएको थियो। गोप्य भेटका विषयमा रास्वपाका नेताहरूले मिडियालाई जानकारी दिएको विषयलाई बालेनले गम्भीर रूपमा लिएका छन्।

बालेनलाई रवि जेलमा हुँदा पनि रास्वपाका अन्य नेताहरुले भेटका लागि आग्रह गरिरहेका थिए। तर बालेनले जेलमा आफू भेट्न जान नसक्ने बताउँदै आएका थिए।

छलफलमा बालेनसँग उनका राजनीतिक ‘आर्किटेक्ट’ मानिएका कुमार बेन र कलाकार निश्चल बस्नेत थिए। सभापति रविसँग उपसभापति डीपी अर्याल, असिम शाह र आसिफ शाह थिए। रविले आफ्नो बखानमात्रै गरेपछि बालेन गम्भीर बनेका थिए।

दुई युवा पुस्ताका नेताको भेटवार्ता नियाल्दा राजनीतिक संवादजस्तो देखिए पनि भित्री रूपमा यसले वैकल्पिक राजनीतिका सीमा र सम्भावनालाई उदांगो पारेको छ। धेरैले यो भेटलाई ‘आइसब्रेक’ भनेका छन्। व्यवहारमा यो छलफल विश्वास निर्माणभन्दा बढी एकअर्काको राजनीतिक शैली परीक्षण गर्न केन्द्रित देखिएको छ।

अपेक्षा ठूलो, तयारी सानो

रवि र बालेनको भेट आफैँमा अर्थपूर्ण थियो। पुराना दलप्रति जनआक्रोश, युवामा बढ्दो निराशा र वैकल्पिक नेतृत्वको खोजीबीच बालेन-रवि सहकार्यले नयाँ राजनीतिक ध्रुव बनाउन सक्छ भन्ने अपेक्षा स्वाभाविक छ। फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सन्दर्भमा राख्दा यो संवाद केवल व्यक्तिगत भेट नभई सम्भावित राजनीतिक मोडको संकेत पनि हो।

यद्यपि समस्या अपेक्षामा होइन, तयारीमा देखियो। छलफलमा बालेन स्पष्ट एजेन्डासहित पुगेका थिए- युवालाई नेतृत्वमा ल्याउने, वैकल्पिक शक्ति संगठित गर्ने र चुनावी सहकार्यको स्पष्ट मोडल बनाउने। रास्वपा सभापति लामिछानेका तर्फबाट भने ‘एक प्लेटफर्म’ बनेको सामान्य आवरणबाहेक ठोस प्रस्ताव, संरचना वा नेतृत्व ढाँचाको अभाव देखिएको बालेन निकट स्रोतले बतायो।

राजनीतिक सहकार्य नाराबाट होइन, खाकाबाट सुरु हुन्छ भन्ने यथार्थलाई रास्वपाले भुलेको देखिएको छ। छलफलमा रविले बालेनलाई कला पत्रकारितादेखि अमेरिका बसाइ अनि गिनिज बुकमा नाम लेखेको देखि राजनीतिक टीभी यात्रा र राजनीतिक यात्रा सुनाउँदैनमा साढे दुई घण्टा सकिएको थियो। अनि समग्र नेपालको राजनीतिको विषयमा रवि टिप्पणी अर्को एक घण्टा चलेको थियो। बालेनले निकै कम बोल्न पाएका थिए।

‘छलफलमा हामी अब एकअर्कासँग मिलेर राजनीतिक यात्रा तय गर्नेछौँ’, रास्वपा नेता शाहले भनेका छन्, ‘देशको अवस्था बुझेका छौँ। वैकल्पिक शक्तिलाई नेपाली राजनीतिको मूलधार बनाउनुपर्छ। यसमा सहकार्य आवश्यक छ।’

रविले कुनै ठोस एजेन्डा प्रस्तुत गरेका थिएनन्। उनले एक प्लेटफर्म बनेकाले त्यसमा समाहित हुन बालेनलाई प्रस्ताव गरेका थिए। रविको यस्तो प्रस्तावलाई बालेनले अस्वीकार गरेका थिए। रास्वपामा बालेन जाँदा आगामी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर अघि बढाएमा मात्र जाने एक निकटस्थले सुनाए।

रविको शैली र अविश्वासको रेखा

सहभागीका अनुसार छलफल सौहार्दपूर्ण थियो। छलफल एकतर्फी जस्तो अनुभूति भयो भन्ने बालेन पक्षको बुझाइले यसको गहिरो संकेत गर्छ। रविले आफ्ना प्रयास, संघर्ष र भूमिकाबारे धेरै बोलेको तर साझा यात्राको रूपरेखा दिन नसकेको टिप्पणीले एउटा प्रश्न उठाउँछ- के रवि व्यक्तिगत करिस्मामा भर पर्न चाहन्छन् कि संस्थागत राजनीतिमा? हो रविले आफ्नो ‘पपुलारिटी’बाट दल बनाए तर दल बनेपछि संस्थागत रूपमा जान भने उनी अब्बल ठहरिएका छैनन्।

रवि जेलमा रहँदाको प्रसंगले पनि अविश्वासको रेखा कोरेको हो। धेरै शक्ति, व्यक्ति र परिस्थितिको संयोगबाट रवि बाहिर निस्कने र राजनीतिमा सक्रिय हुने वातावरण बनेको हो। यद्यपि अदालतको आदेश त छँदै छ।

बाहिर आउनुलाई रविले व्यक्तिगत उपलब्धिजस्तो प्रस्तुत गर्नु भविष्यमा सहयात्रीलाई कति भरोसा दिन्छन् भन्ने प्रश्न पनि उठेको छ। राजनीतिमा ‘म’ र ‘हामी’ को सन्तुलन नमिल्दा सहकार्य टिक्दैन भन्ने उदाहरण नेपालमा नयाँ होइन। यही विषयमा रवि र बालेनबीच सहकार्य हुने सम्भावना न्यून देखिन्छ।

बालेन मिसिने होइन, रूपान्तरण गर्ने

बालेन स्पष्ट देखिए- उनी अरू दलबाट आएका नेताजस्तै सहजै रास्वपामा मिसिन चाहँदैनन्। उनको राजनीति सत्तामा मिसिनभन्दा संरचना बदल्न केन्द्रित छ। सहकार्य हो भने त्यसको केन्द्रमा नेतृत्व, निर्णय शक्ति र राजनीतिक मर्म स्पष्ट हुनुपर्ने उनको अडान छ।

रास्वपाभित्रै केही नेताले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने संकेत दिएका थिए। बालेन निकट स्रोतहरूका अनुसार सहकार्य वास्तविक हो भने त्यो औपचारिक र सार्वजनिक रूपमा स्वीकारिनुपर्छ। नत्र उनी ‘अन्य नेताजस्तै प्रयोग हुने’ जोखिम लिन तयार छैनन्। यहीँबाट सहकार्यमा अवरोध हुन्छ।

रवि जेलमा रहँदा अन्य नेताहरूसँग यही विषयमा छलफल भएको र अन्य नेताले विभिन्न अन्तरवार्तामा पनि बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि बढाएर रास्वपा बालेनसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए। भेटमा रवि र बालेनबीच एक्लाएक्लै पनि छलफल भएको थियो।

वैकल्पिक राजनीति : अवसर कि पुनरावृत्ति?

रवि-बालेन भेटपछि प्रश्न उठेको छ- के वैकल्पिक राजनीति साँच्चै नयाँ संस्कार ल्याउन तयार छ? वा पुरानै शैलीलाई नयाँ अनुहारमा दोहोर्‍याउने हो? बालेनले रविको व्यवहारमा पुराना दलकै छाया देखेपछि तत्काल निर्णय नलिएको बुझिन्छ।

शाहले मिलेर जाने विषयमा सैद्धान्तिक छलफल भएको बताएका छन्। यसलाई रास्वपाका नेताहरूले आइसब्रेक भनिरहे पनि बालेन निकटस्थले रविको कुरा सुन्ने काम भएको जनाएका छन्।

रवि र बालेनबीच गृह मन्त्रालयमा पहिले भेट भएको थियो। त्यति बेला रवि गृहमन्त्री थिए। त्यसपछि भएको यो छलफल राजनीतिक निकासका बारेमा केन्द्रित थियो।

कतिपयले बालेन, रवि र कुलमानबीच सहकार्य हुने भनिरहेका छन्। यी तीनैजनाको नजर मुलुकको कार्यकारीमा छ। जसले गर्दा सहकार्य त्यति सहज देखिँदैन।

बालेनसँग नेता शिशिर खनालले वार्ता गर्ने भनिएको छ। तर बालेनले सीधा वार्ता गर्ने हुनाले त्यो पनि त्यति सहज छैन। रास्वपाका नेताहरू भने रविले लचकता अपनाएर बालेनलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न सकेमा रास्वपा पनि बन्ने र मुलुकमा नयाँ शक्तिले शिर ठाडो पार्दै सरकार बनाउने बताउँछन्।

छलफलले ढोका बन्द गरेको छैन, तर सहज रूपमा खोलेको पनि छैन। विश्वास, स्पष्ट नेतृत्व मोडल र साझा एजेन्डाबिना सहकार्य फोटो र वक्तव्यमा सीमित हुन्छ। रास्वपाले बालेनलाई केन्द्रमा राखेर स्पष्ट प्रस्ताव ल्याउन सके नेपाली राजनीतिमा नयाँ मोड सम्भव छ। अहिलेकै अवस्थामा यो संवाद सम्भावनाको राजनीति र अविश्वासको यथार्थबीच अल्झिएको देखिन्छ।

प्रकाशित: ८ पुष २०८२ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast