फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

हिमाल प्रेस ८ पुष २०८२ १२:०४
10
SHARES
फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ- व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ। फोहरका रूपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो।

साउनदेखि मंसिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ।

कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए। उनले भने,‘एकै ठाउँमा सबै फोहर संकलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा संकलन भइरहेको छ।’

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो। भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो।

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ।

नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर संकलन गर्दै आएको छ। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ।

प्रकाशित: ८ पुष २०८२ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast