देउवा र शेखरबीच के भयो कुराकानी?

हिमाल प्रेस १ पुष २०८२ १३:३६
44
SHARES
देउवा र शेखरबीच के भयो कुराकानी?

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच मंगलबार भेटवार्ता भएको छ। क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फाराम जिल्लाजिल्ला पठाएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर देउवा निवास  गएका हुन्।

भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फाराम जिल्लाजिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको बताएका थिए।

कोइरालाले बिना नम्बरका ती फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरेको कोइरालाको सचिवालयले जनाएको छ। कोइरालाले बिना नम्बरका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने बताएका थिए।

कोइरालाले अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आमनिर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे। २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो।

कांग्रेसका सभापति देउवाले असोज १८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गएका थिए। जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उनको घरमा लुटपाट र आगजनी भएको थियो भने पत्नी आरजुसहित देउवामाथि निर्घात कुटपिट भएको थियो।

केही समय काठमाडौँको छाउनी अस्पतालमा उपचार गराएका देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर थप उपचारका लागि सिंगापुर गएका थिए। उनी सिंगापुरबाट फर्किएपछि पनि पार्टीको औपचारिक बैठकमा भने सहभागी भएका छैनन्। यद्यपि पार्टीको निर्णायक भूमिकामा भने सक्रिय रहँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast