काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार आफ्नो कर्तव्यपूर्ण जिम्मेवारी र सक्रियताका साथ पूरा गर्न लागिपरेको बताएकी छन्।
शुक्रबार बालुवाटारमा बसेको निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अन्तरिम कालको व्यवस्थापनका लागि वर्तमान सरकार गठन भएकाले तोकिएको समयमा नै निर्वाचन गर्ने कर्तव्यपूर्ण जिम्मेवारी र सक्रियताका साथ पूरा गर्न लागिपरेको बताएकी हुन्।
उनले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्दै सबैले सकारात्मक सहयोग गर्न आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर छलफल गर्दै आशंकाहरू निवारण गरिएको जानकारी दिइन्। उनले अब चुनाव हुन्छ कि हुँदैन भन्दा पनि कसरी चुनाव सफल पार्ने भन्नेमा सबै लाग्नुपर्ने बताए।
सबै पक्षहरू एकजुट भए निर्वाचनमा कसैले खलल पार्न नसक्ने उनको भनाइ छ। त्यस्तै उनले जेनजी पनि पहिलाभन्दा धेरै फरक भएको र अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन सरकार तयार रहेको बताए।
छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको सुरक्षादेखि अहिलेसम्म भएका सबै तयारीका बारेमा छलफल भएको बताए। उनले दलहरू पनि निर्वाचनमा जान तयार रहेको अवस्थामा थप आशंका नगर्न आग्रह गरे।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले भने ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
बैठकमा सहभागी कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनमा कुनै पनि प्रकारको थ्रेटलाई स्वीकार गर्न नसकिने भन्दै सरकारले भयरहित निर्वाचन गराउन ध्यान केन्द्रित गर्नुपर्ने बताइन्। उनले वर्तमान सरकारलाई निर्वाचन नगराउने छुट नभएको उल्लेख गरिन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले छलफलमा निर्वाचन सुरक्षा र निर्वाचन आयोगका साथै सरकारको तयारीका बारेका जानकारी लिने काम भएको बताए। उनले वर्तमान सरकार चुनावी भएकाले चुनावमा नै केन्द्रित हुन सुझाव दिएको उल्लेख गरे।
त्यस्तै रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनलाई सफल पार्न सहयोग गर्ने जानकारी गराए।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा जानकारी गराएका थिए। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको बताएका थिए।



