काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री हुने भएका छन्। सातदलीय गठबन्धनको शुक्रबार बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।
यसअघि प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धनमै आवद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि दाबी गरेको थियो।
पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभा सदस्य शेषनारायण यादवले सातदलीय गठबन्धनको बैठकमा मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति जुटेको जानकारी दिए।
उनले कांग्रेस संसदीय दलका नेता यादवले सात दलका सांसदहरूको समर्थनमा केही बेरपछि मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने जानकारी दिए। सांसद यादवले तत्काल मुख्यमन्त्रीमा सहमति जुटेको र अन्य पदका लागि सपथग्रहणपछि छलफल हुने बताए।
बिहीबार साँझ बसेको सातदलीय गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबार फेरि बैठक बसेको हो। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता सरोजकुमार यादवले राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न शुक्रबार दिनको ५ बजेसम्मको समय दिएका छन्।



