काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन्।
२२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले बिहीबार काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताएकी छन्।
उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गर्ने दायित्व वर्तमान सरकारको रहेको धारणा राखिन्।
उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको भन्दै ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको जिकिर गरिन्।
त्यस्तै प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र हासिल गरेको उपलब्धि धेरै ठूलो भएको बताइन्।
कार्यक्रममा मौलिक संस्कृति जगेर्ना गर्न भूमिका खेल्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।



