समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १७ मंसिर २०८२ ७:४२
2
SHARE
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

अपांगता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । सन्देशमा प्रधानमन्त्रीले अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताइन् ।

अपांगता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपांगताको गाम्भीर्यका आधारमा अपांगता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपांगता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको उनले सन्देशमा स्पष्ट पारिन् ।

अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरिन् ।

अपांगता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपांगता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरिन् ।

नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपांगता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उनले बताइन् ।

आजको यस दिवसले अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपांगता भएका व्यक्ति एवं तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरिन् ।

प्रकाशित: १७ मंसिर २०८२ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast