मधेशका मुख्यमन्त्रीले पाउलान् विश्वासको मत?

हिमाल प्रेस १७ मंसिर २०८२ ७:०२
12
SHARES
मधेशका मुख्यमन्त्रीले पाउलान् विश्वासको मत?

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिँदैछन्। मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज प्रदेश सभामा विश्वास मतको प्रस्ताव राख्ने जानकारी गराएका हुन्।

‘सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनेको छ। मैले परमादेशको पत्र मंगलबार ३ बजेमात्र पाएकाले सोही आधारमा बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको छु,’ मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेको छु।’

उनले यसअघि एमालेले सहयोग गरेका दलहरूले आफूलाई विश्वास मत दिनेसमेत बताएका छन्। मुख्यमन्त्री यादवले आफूले विश्वासको मत पाउने दाबी पनि गरेका छन्। गत कात्तिक २३ गते यादव ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई होटलमै शपथ दिलाएपछि मधेश प्रदेशमा राजनीतिक विवादको अवस्था निम्त्याएको थियो।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि उनले विश्वास मत लिन लागेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत, लोसपा, जसपासहित ७ दल मुख्यमन्त्रीविरूद्ध अदालत गएपछि मधेशमा राजनीतिक संकट चुलिएको थियो। एमालेले प्रदेश प्रमुख, यही प्रकरणमा सभामुख पनि गुमाइसकेको छ। प्रदेश प्रमुखलाई संघीय सरकारले बर्खास्त गरेको थियो।

सभामुख रामचन्द्र मण्डलमाथि आचरणको प्रश्न उठाएर प्रदेश सभाले हटाएको थियो। मुख्यमन्त्री यादवले विश्वासको मत पाउन ५३ जना सांसद आवश्यक पर्छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम छन्।

एमालेसँग २५ सांसदमध्ये २४ मात्रै मत छ। एक जना सांसद निलम्बनमा छन्। मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिन नसकेको खण्डमा संविधान १६८ को २ बमोजिम सरकार गठन प्रक्रियाका लागि जानुपर्ने अदालतको आदेश थियो।

प्रकाशित: १७ मंसिर २०८२ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast