कांग्रेसमा उम्मेदवार छनोटमा कडाइ : लेबी नबुझाउने, अपराधमा दोषी ठहर भएकाहरू अयोग्य

हिमाल प्रेस १६ मंसिर २०८२ १७:१३
12
SHARES
कांग्रेसमा उम्मेदवार छनोटमा कडाइ : लेबी नबुझाउने, अपराधमा दोषी ठहर भएकाहरू अयोग्य

काठमाडौँ- नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी मातहतका सबै संरचनालाई उम्मेदवार सिफारिस गर्न औपचारिक रूपमा परिपत्र गरेको छ। निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै पार्टी केन्द्रीय कार्यालयले प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई निर्धारित मितिभित्र नाम सिफारिस गर्नु पर्ने निर्देशन दिएको हो। कांग्रेसले उम्मेदवार छनोटमा पनि कडाइ गरेको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला र क्षेत्रीय सभापतिलाई पठाएको पत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका साथै राष्ट्रियसभा सदस्यका लागि विधानअनुसार प्रक्रिया पूरा गरी नाम सिफारिस गर्न भनिएको छ। ‘२०८२ मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सबै मातहतका निकायले निर्धारित समयभित्र आफूभन्दा माथिल्लो निकायमा अनिवार्य रूपमा सिफारिस पठाउनू,’ पत्रमा उल्लेख छ।

सरकारले प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ भने राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुनेछ। यही तयारीका क्रममा प्रदेश समितिहरूले प्रदेशभित्रका जिल्लाबाट राष्ट्रिय सभाका लागि सम्भावित उम्मेदवारको सूची संकलन गर्ने, सहमति भए अनुसार वा सहमति हुन नसके बहुमतका आधारमा एक सिटका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको छ। यी नामहरू २०८२ मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइनेछ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि १० वटा शर्त तथा योग्यता पनि तोकेको छ। विधानअनुसार आवश्यक योग्यता पुगेको व्यक्ति मात्र उम्मेदवार हुन सक्ने, जातीय विभेद, घरेलु हिंसा वा सामाजिक अपराधमा दोषी ठहर भएकाहरू अयोग्य हुने, २०७९ को समानुपातिक सूचीबाट निर्वाचितहरू आगामी समानुपातिकमा उम्मेदवार नबन्न पाउने जस्ता प्रावधानहरू समावेश छन्।

त्यस्तै, २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिलाई पनि यसपटक उम्मेदवार सिफारिस गर्न नपाइने व्यवस्था राखिएको छ। प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभा तीनमध्ये एक व्यक्तिले केवल एक पदका लागि मात्रै सिफारिस दिन सक्नेछ।

उम्मेदवारका कागजातहरू पनि परिपत्रमा विस्तृत गरिएको छ। प्रतिनिधिसभा सदस्यका इच्छुकले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र पेस गर्नुपर्नेछ भने समानुपातिक तर्फका उम्मेदवारले नागरिकता, मतदाता निस्सा, पार्टीको प्रतिवद्धता पत्र, निर्वाचन आयोगको स्वघोषणापत्र, व्यक्तिगत तथा सम्पत्ति विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

पार्टी विधानको धारा ६९ अनुसार तोकिएको सहयोग रकम (लेबी) बुझाएका सदस्य मात्र उम्मेदवारको योग्यतामा रहने स्पष्ट गरिएको छ। लेबी नबुझाएका कुनै पनि व्यक्ति कुनै तहको उम्मेदवार बन्न नपाउने परिपत्रमा उल्लेख छ। नेपाली कांग्रेसका तल्लो संरचनाहरूले अब निर्धारित समयसीमाभित्र नाम संकलन, छनोट र अन्तिम सिफारिसको प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित: १६ मंसिर २०८२ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast