काठमाडौँ- हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो। सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८ मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ।
ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटकपटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ। रासस



