चलचित्रकर्मीको कोषमा गायिका दीपानारायण झाको सहयोग

हिमाल प्रेस ४ माघ २०७९ ८:५३
6
SHARES
चलचित्रकर्मीको कोषमा गायिका दीपानारायण झाको सहयोग

काठमाडौँ- नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन्। सांगीतिक कार्यक्रमको क्रममा नेपाल आइपुगेकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा पाँच लाख एक सय ११ रुपैयाँ सहयोग गरेका हुन्।

‘गीत–संगीतमार्फत म र मेरा श्रीमान्‌को धेरै माया र साथ पाएका छौँ। नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ’, गायिका झाले भने, ‘नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ।’

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही एक लाख एक सय ११ रुपैयाँ, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार एक सय ११ रुपैयाँ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले ११ हजार एक सय ११ रुपैयाँ कोषमा सहयोग प्रदान गरेका छन्।

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिए। ‘यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो। कोषमा पाँच करोड रुपैयाँ जम्मा भइसकेको छ। हाम्रो लक्ष्य रु १० करोडको छ’, उनले भने। नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast