नेकपा एमाले नेतृ रामकुमारी झाँक्री।
काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा देखिएका अराजक गतिविधि नियन्त्रणमा लिन नेपाल प्रहरीले अघि बढाएको कारबाहीको प्रशंसा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले जनसेवामुखी भूमिकाका कारण प्रहरीप्रति जनविश्वास क्रमशः बढ्दै गएको धारणा राखेकी छन्।पछिल्ला दिनहरूमा देशभर आगजनी, लुटपाट तथा तोडफोडमा संलग्न समूहविरुद्ध प्रहरीले तत्परता साथ नियन्त्रण कार्य अघि बढाइरहेको छ। ‘धन्यवाद नेपाल प्रहरीलाई, जेनजी आन्दोलनका नाममा देशैभर अराजकता, लुटपाट र आगजनी गर्नेहरू विरुद्ध कारबाही गरिरहेकोमा,’ उनले लेखेकी छन्।
उनले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्ममा उपलब्ध रहेका भिडियो तथा फोटोलाई आधार बनाएर सुरक्षा निकायले अझै धेरै संलग्न व्यक्तिहरू पहिचान गर्न सक्ने विश्वास व्यक्त गरेकी हुन्।
नेतृ झाँक्रीले आफ्नो परिवारसमेत अराजक समूहद्वारा निसाना बनाइएका घटनाबारे सार्वजनिक गर्दै ८३ वर्षका ससुराको जीवनभरको श्रमले बनेको घरमा आगजनी, तोडफोड र लुटपाट भएको दाबी गरेकी छन्। उनका अनुसार त्यो घर केवल संरचना मात्र नभई ससुराको ‘सपना’ रहेकोले परिवारले ठूलो मानसिक पीडा भोग्नुपरेको छ।


