काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, विघटित नेकपा माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्व प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू आगामी आइतबार राष्ट्रिय सभागृहमा वैकल्पिक राजनीतिक एकताको घोषणा गर्ने तयारीमा छन्।
प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र अन्य वैकल्पिक समूहहरूलाई एकीकृत गरेर बन्न लागेको नयाँ पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ र यसको चुनाव चिह्न ‘आँखा’ रहने पक्का भइसकेको छ।
एकतापूर्वै देशभर फैलिएको अभियानलाई तीव्र बनाउने उद्देश्यले शर्मा, सुदन किराँतीलगायतका नेताहरूले पूर्वमाओवादी पृष्ठभूमिका तर प्रगतिशील तथा वैकल्पिक विचारका नेताकार्यकर्तालाई आफ्नो पक्षमा तान्ने कामलाई सशक्त बनाएका छन्। नेताहरूका अनुसार धेरै जिल्लामा अभियानका संरचना बनिसकेका छन् र एकता घोषणालाई भव्य बनाउन जिल्लाबाट कार्यकर्ता काठमाडौँमा समेट्ने तयारी तीव्र छ। नेसपा नयाँ शक्तिले पनि जिल्ला जिल्लाबाट नेताकार्यकर्ता काठमाडौँ उतार्दै छ।
सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई पनि व्यापक बनाइएको छ। फेसबुक, ह्वाट्सएपजस्ता प्लेटफर्ममा समूहहरू बनाएर पोस्टर, नारासहित वैकल्पिक राजनीतिक शक्ति निर्माणको सन्देश देशभर फैलाइएको छ। नेसपा नयाँ शक्तिका प्रचार विभाग प्रमुख रेखी गुरुङले भने,‘आइतबार (मंसिर ७ गते) ‘बृहत् एकता घोषणा सभा’ आयोजना हुने भएको छ। कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय सभागृह, काठमाडौँमा हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य जेनजी विद्रोहपछिको राजनीतिक परिस्थितिको आँकलन गर्दै विभिन्न नयाँ, वैकल्पिक र प्रगतिशील राजनीतिक तथा सामाजिक धाराहरूलाई एउटै साझा मोर्चामा उभ्याई ‘बृहत् पार्टी एकता’ को घोषणा गर्ने रहेको छ।’
एकताको तयारीसँगै नेताहरूले अहिले विभिन्न दल, समूह र स्वतन्त्र व्यक्तिसँग निरन्तर संवाद बढाइरहेका छन्। नेसपा नयाँ शक्तिका एक नेताका अनुसार मधेश केन्द्रित दलका केही समूह, नागरिक पहिलोका डम्बर खतिवडा, विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, रास्वपा छाडेकी सुमना श्रेष्ठ तथा डा.तोसिमा कार्की नेतृत्वको समूहसँग निरन्तर छलफल भइरहेको छ। बुधबार मात्रै लेखक खगेन्द्र संग्रौला पनि नेतासँग भेटघाटमा सहभागी भएका थिए।
त्यस्तै, अशोक राई नेतृत्वको जसपासँग पनि छलफल अघि बढेको बताइएको छ भने रास्वपा भित्रका केही प्रभावशाली समूह नयाँ पार्टीमा आवद्ध हुने तयारीमा रहेको दाबी नेताहरूले गरेका छन्।
यसैबीच,जेनजी आन्दोलनसँग नजिक रहेका केही समूहलाई पनि पार्टीमा जोड्ने प्रयास हुँदैछ। प्रगतिशील राष्ट्रिय अभियान र नेसपा नयाँ शक्तिका नेताहरूले जेनजी अभियन्तासँग प्रणाली सुधार, वैकल्पिक राजनीतिको संरचना र समावेशी नेतृत्वबारे संवाद गरिरहेको स्रोतले बताएको छ।
आइतबारको कार्यक्रममा डा.भट्टराई, शर्मा, राम कार्की, सन्तोष, सुदन किराँती, दुर्गा सोबललगायत नेताहरूले संयुक्त रूपमा एकता घोषणा गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्ति औपचारिक रूपमा स्थापना गर्नेछन्।


