संसद पुन: स्थापनाको अडानले राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्छ : प्रधानमन्त्री

हिमाल प्रेस ३ मंसिर २०८२ २०:३२
26
SHARES
संसद पुन: स्थापनाको अडानले राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको घोषणापछि केही दलले संसद पुन: स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिने बताएकी छन्।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगमा दर्ता भएका दलसँग निर्वाचनका विषयमा छलफल गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा निर्वाचनबाट भाग्नुको विकल्प नहुने समेत बताइन्।

निर्वाचनको घोषणापछि पनि कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने उनले बताइन्। उनले अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुने बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको सबलीकरण निर्वाचनका लागि अनिवार्य शर्त रहेको बताउँदै आफू निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाइन्। छलफलमा सहभागी दलहरुले भने निर्वाचनको वातावरण अझै बन्न नसकेको धारणा राखेका थिए।

छलफलमा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संवैधानिकताको प्रश्न उठेपनि आफूहरु निर्वाचनमा जान तयार रहेको बताए। उनले निर्वाचनका लागि उचित वातावरण बनाउन नसकेकाले त्यसमा ध्यान दिन सुझाव दिएको उल्लेख गरे।

एमाले नेताहरुले सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको बताएका थिए। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अराजकतालाई रोक्न आग्रह गर्दै सरकार र प्रतिनिधिसभा विघटनको वैधानिकतामाथि प्रश्न उठाएको बताए।

त्यस्तै रास्वपा नेता गणेश पराजुलीले सरकारलाई सहयोग गर्न तयार रहेको र निर्वाचनको वातावरण बनाउन आग्रह गरिएको बताए। उनले सुरक्षालाई देखाउँदै निर्वाचनबाट भाग्न खोज्नु उचित नभएको उल्लेख गरे।

त्यस्तै अन्य दलका नेताहरुले दलहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका थिए। सर्वदलीय छलफलमा निर्वाचन आयोगमा दर्ता भएका कांग्रेस, एमाले माओवादीलगायत दलका नेताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३ मंसिर २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast