डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

हिमाल प्रेस ३ मंसिर २०८२ ८:३१
2
SHARE
डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

भक्तपुर- बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रात भरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवंगत पितृको सम्झनामा आज साँझ दीप तथा महादीप बालेका छन्।

आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर जाग्राम बस्नेहरूका लागि मन्दिरको सत्तलमा व्यवस्थापन गरेको सूर्यविनायक नगरपालिका–८ सिपोडोलका स्थानीय एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए।

केही वर्ष अगाडिसम्म पशुपति जाँदै आएका यहाँका बासिन्दा डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिंगको व्यवस्था भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्न थालेका छन्। उनीहरू भोलिपल्ट बिहानै स्नान गरी १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउँछन्।

चाँगुनारायण नगरपालिका–५ छालिंगस्थित गोकुलधाममा पनि आज रातभर जाग्राम बस्नेहरुको भीड छ । मच्छेनारायण मन्दिरसँगै रहेको १०८ शिवलिंगमा भोलि बिहान शतबिज छर्ने र आज रातभरि मन्दिर परिसरमा जाग्राम बसेर आफ्ना पितृका सम्झनामा महादीप बाल्ने व्यवस्था गरेसँगै यहाँका बासिन्दाले पशुपतिको विकल्पको रूपमा यस मन्दिरलाई प्रयोग गरेको गोकुलधाममा स्थानीय युवा गोकर्ण पुरीले जानकारी दिए।

उनले भने, ‘यहाँका बासिन्दाले मन्दिरमै आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप महादीप बालेर जाग्राम बसेका छन् । रातभर जाग्राम बस्नेलाई मन्दिरमा बस्ने र सुरक्षाको व्यवस्था गरिएको छ। यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन्।’

सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं। ७ गुण्डुको अनन्तलिङ्श्वर र महादेव मन्दिर, वडा नं १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले रातभरि जाग्राम बसेर दीप तथा महाद्वीप बालेर आज रातभर जाग्राम बस्ने छन्।

बुधबार बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व पनि यही मनाउनेछन्। मन्दिरसँगैको खोलामा दीप बिसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको हो। मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिरमा महादीप बालेर रातभचर जाग्राम बसेका छन्।

त्यस्तै चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बसेका छन् । विगतमा पशुपतिमा गर्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिंगसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका पूर्वप्रमुख नवराज गेलालले जानकारी दिए।

चाँगुनारायण–८ सुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिंगमा बाला चतुर्दशीको अवसरमा मेला लागेको छ । विगत चार वर्षदेखि स्थानीयले महादीप बालेर रातभर जाग्राम बस्दै बिहान सतबीज छर्ने र होमहोमादी पूजा गरेको लक्ष्मण पुरीले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast