नेपालमा प्रदर्शनमा रहेको फिल्म ‘परान’ ले दर्शकलाई हलतर्फ आकर्षित गरिरहेको छ। फिल्मले ग्रामीण नेपालको एक परिवारको कथामार्फत वृद्धावस्थाको एक्लोपन, युवाहरूको गाउँबाहिरको यात्रा र पारिवारिक सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। नेपाली फिल्म जगतका धरोहर अभिनेता नीरविक्रम शाहको प्रमुख भूमिका रहेको या फिल्ममा अभिनेत्री पूजा चन्द, मदनकृष्ण श्रेष्ठलगायतका अनुभवी कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ। फिल्मले नेपाली आमा-बुवाको मन छोएको छ, खासगरी जसका सन्तान विदेशमा छन् वा विदेश जाने तयारीमा छन्।
फिल्मको मूल सन्देश हो- परिवारका कम्तीमा एक सन्तानले आफ्ना आमा-बुवासँग उहाँहरूकै थातथलोमा बस्नुपर्छ। तर, यो समीक्षाले सामाजिक र लैंगिक दृष्टिकोणबाट फिल्मले प्रस्तुत गरेका गहन आयाम उजागर गर्ने प्रयास गरेको छ, जसले फिल्मलाई थप रोचक र सिकाइ-मुखी बनाएको छ।
फिल्मको सारांश
पूर्वी नेपालको धनकुटाको गाउँमा बस्ने एक वृद्ध दम्पतीका तीन छोरा छन्। जेठा अस्ट्रेलियामा, माहिला काठमाडौँमा र कान्छो गाउँमै आमा-बुवासँग बस्छन्। बुवा कान्छो छोराप्रति गर्व गर्छन् र उनलाई आफ्नो वृद्ध अवस्थाको औषधि ठान्छन्। कान्छो छोराको कुखुरा पालन व्यवसाय छ र उनकी श्रीमती गाउँको स्कुलमा शिक्षिका हुन्। दुई छोरा साथमा नभए पनि कान्छो छोराको साथले जीवन राम्रैसँग चलिरहेको हुन्छ। तर कान्छो छोराले अप्रत्यासित रूपमा डीभी चिठ्ठा जितेपछि अमेरिका जाने निर्णय लिन बाध्य हुन्छन्। उनी आफैँ जान चाहँदैनन्। श्रीमतीको इच्छा र सपनालाई सम्मान गर्छन् र उनलाई साथ दिन्छन्। त्यसपछि फिल्मले फरक मोड लिन्छ, जसले गाउँबाट युवा पलायनले वृद्ध आमाबुवाहरूको जीवनमा कसरी असर पारिरहेकोे छ भन्ने विषयलाई उजागर गर्छ। चाहे विदेश जाने होस् वा सहर पस्ने होस्, यो फिल्मले नेपालको ग्रामीण क्षेत्रमा व्याप्त युवा पलायनको समस्या र यसले परिवारमा पार्ने भावनात्मक प्रभावलाई गहिरोसँग चित्रण गरेको छ।
सामाजिक दृष्टिकोण
सामाजिक दृष्टिकोणबाट हेर्दा ‘परान’ ले नेपालका युवाहरूको बाध्यता, प्रतिस्पर्धाको भावना र रहरका कारण हुने विदेश वा सहर यात्रालाई चित्रण गरेको छ। फिल्मले नेपालमा उच्चशिक्षा वा रोजगारीका लागि विदेश जाने सपना धेरै युवाको मनमा छ भन्ने भावलाई पुष्टि गर्छ। खाली हुँदै गएका ग्रामीण क्षेत्रमा रहेका वृद्ध अभिभावकहरूको एक्लोपन र भावनात्मक पीडा यो फिल्मको केन्द्रबिन्दु हो। फिल्मले समाजलाई प्रश्न गर्छ-के आर्थिक सफलता परिवार र समाजभन्दा माथि हुन्छ?
अमेरिका पुगेको केही समयपछि बुवा गुमाएको कान्छो छोराको आर्थिक प्रगति पछि उनले बोलेको पीडादायी भनाइ, ‘म मेरो सबै सम्पत्ति दिन्छु, तर कसैले मेरा बुवालाई एक मिनेट मेरो कारको सिटमा ल्याएर राखिदिन सक्छ?’ ले साबित गर्छ कि परिवार सबैभन्दा माथि हुन्छ।
यसैगरी सहरमा बस्न नसकेर गाउँ फर्किएका बुवाको सम्झनामा माहिलो छोराले आमासँग राखेका पीडादायी शब्दले नेपाली समाजमा रहेको पारिवारिक स्नेहको जरालाई थप उजागर गर्दछ, चाहे आमा-बुवाले सन्तानप्रति गर्ने माया होस, वा सन्तानले आमा-बुवाप्रति।
फिल्ममा दर्शकले आफ्नै पीडाहरू पोखिएको पाएका छन्। त्यसैले यसले नेपालको सामाजिक वास्तविकताको प्रतिनिधित्व गरेको छ। सँगै बसेर फिल्म हेर्ने दर्शकका भिजेका आँखाले नेपालमा धेरै परिवारहरू यस्तै पीडा भोगिहरेका छन् भन्ने स्पष्ट हुन्छ।
नेपाली समाजमा बुवा-आमाको स्थान सधैँ सर्वोपरि हुन्छ भन्ने विषयलाई फिल्मले गहन ढंगले देखाएको छ। दुई दशकअघिको हिन्दी फिल्म ‘बागवान’को एक दृश्यसँग तुलना गर्दा ‘परान’ ले माहिला छोरा-बुहारीले काठमाडौँमा बुवा-आमालाई बस्न सहज वातावरण बनाउन गरेको प्रयास र घरको नाम परिवर्तनको प्रसंगमार्फत बुवा-आमाको स्थान परिवारमा सर्वोपरि हुन्छ भन्ने तथ्य एकपटक पुनः सबै दर्शकलाई सिकाएको छ।
अर्को दृश्यमा हजुरबुवाले नातिलाई परिवार भनेको संयुक्त हुन्छ भनी सिकाएको प्रसंग र नातिलगायत सबैले त्यो कुरालाई आत्मसात् गरेको दृश्यले नेपाली समाजका विशेषताको सन्देश दिन्छ।
लैंगिक दृष्टिकोण
लैंगिक दृष्टिकोणबाट यो फिल्म अझ रोचक लाग्छ। नेपाली फिल्ममा प्रायः महिलालाई कम सक्रिय र कतिपयमा पीडितका रूपमा चित्रण गरेको पाइन्छ। ‘परान’ मा महिलाको सम्मान र उनीहरूको आवाजलाई प्राथमिकता दिइएको छ। कान्छो छोराकी श्रीमतीले अमेरिका जाने निर्णयमा मुख्य भूमिका खेल्छिन् र छोराले आफ्नो बुवाप्रति प्रेम हुँदाहुँदै पनि श्रीमतीको इच्छा र रहरलाई सम्मान गर्छन्। अमेरिकाको डीभी परेदेखि उनले बुवाप्रतिको प्रेम र चिन्ताले धेरै रात सुत्न नसकेको दृश्यले उनको भावनात्मक द्वन्द्वलाई स्पष्ट पार्छ। आफ्ना मनमा लागेका विषय श्रीमतीलाई भन्छन्, तर एक जिम्मेवार श्रीमानका रूपमा उनको भावनाको सम्मान गर्छन्। यो भूमिकाले वैवाहिक दायित्व र महिलाको स्वतन्त्रतालाई सम्मान गर्ने संस्कृतिको महत्त्व दर्शाउँछ।
यो यतिमै सीमित रहँदैन। सामान्यतः नेपाली समाजमा यस्ता घटनामा विनाकारण घरपरिवार वा समाजबाट बुहारी वा श्रीमतीमाथि दोषारोपण गरिन्छ। यस फिल्ममा कान्छी बुहारीलाई परिवार र समाजका अन्य सदस्यले यो विषयलाई जोडेर कतै केही बोलेका पाइँदैन। महिलाले आफ्नो र आफ्ना सन्तानको भविष्यबारे निर्णय गर्ने स्वतन्त्रता र श्रीमानले त्यसमा साथ दिनुपर्ने सन्देश यसले दिन्छ।
काठमाडौँमा बस्ने माहिलो छोराको परिवारमा पनि श्रीमान-श्रीमतिबीचको सम्मान र समानताको भावना देखिन्छ। माहिली बुहारीले श्रीमानलाई नामले सम्बोधन गरेको कुरा बुवा-आमाले उनीहरूको निजी मामिला हो भनी मौन बसेको दृश्यले परम्परागत लैंगिक सोचमाथि सकारात्मक परिवर्तनको संकेत गर्छ।
गाउँले समाजका पात्रहरूले पनि विदेश वा सहर यात्रालाई आजका युवाहरूको साझा प्रवृतिका रूपमा स्वीकार गरेको देखिन्छ। तर समाज महिलाहरूप्रति सधैँ सकारात्मक रहेको सन्देश दिन खोजिएको छ। फिल्ममा देखाइएको टेलरमास्टरको परिवारमा पनि श्रीमती निर्णयकर्ताका रूपमा देखाइएको छ, जसले परिवारमा श्रीमतीको सम्मानजनक स्थानलाई जोड दिन्छ। फिल्मका यस्ता दृश्यहरूले नेपाली समाजमा व्याप्त पितृसत्तात्मक सोचमाथि परिवर्तनको सन्देश दिँदै लैंगिक समानताको सुचना प्रवाह गर्दछन्।
समग्रमा, ‘परान’ एक सरल कथा तर गहन विचार भएको फिल्म हो जसले भावनात्मक, सामाजिक र लैंगिक सन्देशलाई सुन्दर रूपमा जोडेको छ। यो फिल्मले नेपाली समाजको बदलिँदो परिवेशलाई प्रतिबिम्बित गर्दै युवाहरूलाई आफ्नो घर र समाजलाई नबिर्सन आग्रह गर्छ। साथै लैंगिक समानता र पारिवारिक मूल्यहरूमा सकारात्मक परिवर्तनका सन्देश फिल्मले प्रवाह गरेको छ।
(त्रिविबाट एमफिल उपाधि प्राप्त गरेका भण्डारी विगत १५ वर्षदेखि शिक्षा, समाज र लैंगिक विषयमा अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्)।




