‘सटडाउन’ कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द

हिमाल प्रेस २३ कार्तिक २०८२ २०:०८
12
SHARES
‘सटडाउन’ कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द

काठमाडौँ– अमेरिकामा जारी सरकारी बन्द (सटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ।

संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन्। सरकारी बन्द कहिले अन्त्य हुने कुनै संकेत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन्।

देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको संघीय बन्दको असर झन् गहिरो बनाएको छ। यात्रुहरूका गुनासा बढिरहेका छन्। डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गहेकी मियामीकी ३६ वर्षीया एमी होल्गुइन भन्छन्, ‘हामी सबै कतै न कतै जानै पर्छ। म आशा गर्छु सरकारले छिट्टै समाधान गर्छ।’

विश्लेषकहरूका अनुसार यदि रद्द हुने दर यस्तै बढ्दै गयो भने आगामी ‘थ्याङ्क्सगिभिङ’ हप्तामा स्थिति अझ भयावह हुन सक्छ र यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ। पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ।

उडान रद्दको तथ्यांक

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए। यसको अघिल्लो दिन संख्या एक हजार पुगेको थियो। आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सहरूले जनाएका छन्। एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन्।

विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो।

एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रूपमा चार प्रतिशत उडान कटौती गरेको थियो। यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो। मंगलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यातायातमन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलबविना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

उडान किन रद्द भइरहेका छन्?

नियन्त्रकहरूले लगभग एक महिनादेखि तलबविना काम गरिरहेका छन्। धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन्। नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलबविना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ।

संघीय बन्द अन्त्य गर्न माग गर्दै उक्त संघले शनिबार अमेरिकी कांग्रेसका सदस्यहरूलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ।

यात्रुहरूको अवस्था

उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङ गर्न लामो प्रतीक्षामा छन्। लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन्।

शनिबार क्रुज यात्रा सकेर प्युटो रिको फर्किनुपर्ने मियामीकी ४६ वर्षीया हिथर जुले भन्छन्, ‘यात्रा आफैँमा तनावपूर्ण हुन्छ। त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ।’

भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन्। केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा रोजिरहेका छन्।

अर्थतन्त्रमा असर

उडान रद्दले केवल यात्रुहरूलाई नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ।

सिराक्युज विश्वविद्यालयका आपूर्ति शृंखला विज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार यदि प्रमुख हवाई ढुवानी सेवा प्रभावित रह्यो भने उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सारिनेछ।

एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफ भन्छन्, ‘यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई, सम्पूर्ण पर्यटन उद्योग र सहरका राजस्वलाई असर पार्नेछ। होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ।’

सरकारी बन्द जारी रहेसम्म उडान अवरोध र यसको असर थप गहिरिँदै जाने निश्चित देखिएको छ।-रासस/एपी

प्रकाशित: २३ कार्तिक २०८२ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast