कांग्रेसमा महाधिवेशन मितिबारे विवाद : गुट परिवर्तन गर्दै नेताहरू

हिमाल प्रेस २३ कार्तिक २०८२ १८:२४
80
SHARES
कांग्रेसमा महाधिवेशन मितिबारे विवाद : गुट परिवर्तन गर्दै नेताहरू नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय कार्यसमितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट दुई दर्जन सदस्यहरू मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। काठमाडौँको कालीमाटीस्थित एक पार्टी प्यालेसमा  आइतबार आयोजित भेलामा सहभागी ती केन्द्रीय सदस्यहरूले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

भेलामा सहभागी केन्द्रीय सदस्यहरू १४ औँ महाधिवेशनमा सभापति देउवा समूहबाट निर्वाचित भएका थिए। देउवा समूहबाटै सहमहामन्त्री निर्वाचित भएका सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाविधेशन गर्नुपर्ने कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गरेका बेला केन्द्रीय सदस्यहरूको भेलाले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

केन्द्रीय समिति बैठकमा पनि धारणा राख्ने क्रममा उनीहरूले चुनावअघि मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए।  केन्द्रीय सदस्य राजेन्द्र केसीले आइतबारको भेलाले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए। ‘केन्द्रीय समिति बैठकमा पनि हामीले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थियौँ,’ केसीले भने, ‘आजको भेलाले पनि यही निष्कर्ष निकालेको छ।’

उनका अनुसार भेलामा २५-३० जना केन्द्रीय सदस्य सहभागी थिए। फागुन २१ को चुनावअघि वा चुनावपछि १५ औँ महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ। महाधिवेशन मिति तोक्ने विषयलाई लिएर पछिल्लो समय कांग्रेसमा ध्रुवीकरण बढ्दै गएको छ। चुनावअघि वा चुनावपछि नियमित कि विशेष भन्ने विवादका कारण संस्थापनका साथै इतर समूह पनि विभाजित बनेको छ।

संस्थापन पक्षकै कतिपय नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने अडान लिइरहँदा कतिपय भने त्यसअघि नै महाधिवेशन गर्नुपर्ने ‘बटमलाइन’ राखेका छन्। ‘वर्तमान कार्यसमितिको पदावधि सकिएको छ, मंसिरमै महाधिवेशनमा जाँदा केही बिग्रिँदैन, महाधिवेशन गराउन पनि सम्भव छ,’ आइतबारको  भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘मंसिरमा महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो बटमलाईन हो। मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा यो निर्णय लिखित रूपमै प्रस्तुत हुनसक्छ।’

भेलामा सहमहामन्त्री फरमुल्ला मन्सुर, केन्द्रीय सदस्य राजेन्द्र केसी, डिला संग्रौला, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अमृत अर्याल, अब्दुल सतार, विनोद चौधरीलगायतका नेताहरू सहभागी थिए।

सभापति देउवा समूहबाट १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका फरमुल्लाह मन्सुर र महेन्द्र यादव यतिबेला छुट्टै कित्तामा उभिएका छन्। महाधिवेशन विवादले फरमुल्लाह र यादवलाई यतिबेला फरक कित्तामा उभाइदिएको छ।

यसका साथै देउवा समूहबाटै केन्द्रीय सदस्य निर्वाचित भएकी डिला संग्रौला पनि महाधिवेशनको सवालमा इतर पक्षले उठाइरहेको मागलाई साथ दिइरहेकी छन्। आइतबार भएको भेलामा आफू सहभागी नभएको डिलाको दाबी छ। एक नेताले भने उनी पनि छलफलमा सहभागी भएको जानकारी दिए। ‘म आजको छलफलमा गएको छैन, मलाई थाहा पनि भएन,’ डिलाले भनिन्, ‘के विषयमा बैठक भएको हो मलाई जानकारी भएन।’

यद्यपि उनले मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गरिन्। मुलुकको फेरिको राजनीतिलाई हेर्दा नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा जानुपर्छ भन्ने आफ्नो भनाइ रहेको उनले बताइन्। ‘केन्द्रीय समिति बैठक सुरु भएको दोस्रो दिन नै मैले आफ्नो धारणा राखिसेको छु,’ डिलाले भनिन्, ‘नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा जानुपर्छ भनेर मैले भनेको छु। यसका लागि मंसिरमै नियमित महाधिवेशन गर्नुपर्छ केन्द्रीय समिति बैठकमा भनिसकेको छु।’

महाधिवेशन मिति तोक्ने विषयमा माथापच्ची हुँदै गएपछि असोज २८ मा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सकिएको छैन। यसअघि केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न तीन मिनेट समय दिइए पनि यसपालि १० मिनेटको समय दिइएको छ। तिहार र छठका बेला केही दिनका लागि स्थगित  केन्द्रीय समिति बैठकमा अझै ५१ जना बोल्न बाँकी छ। केन्द्रीय सदस्यहरूले धारणा राख्न बाँकी नै रहेकाले बैठक मंसिरको पहिलो सातासम्म पुग्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

इतर पक्षले भने केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न १० मिनेटको समय दिनुको पछाडि बैठक लम्ब्याएर मंसिरको महाधिवेशन टार्ने नियत रहेको आरोप लगाएको छ। संस्थापन पक्ष भने जेनजी आन्दोलनपछि विशेष राजनीतिक परिस्थितिमा बैठक बसिरहेकोले केन्द्रीय सदस्यहरूलाई खुलेर आफ्नो धारणा राख्न १० मिनेटको समय दिइएको दाबी गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast