नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। फाइल तस्बिर।
काठमाडौँ- यति बेला नेपाली कांग्रेसभित्र ‘नियमित महाधिवेशन कहिले गर्ने?’ र ‘विशेष महाधिवेशन गर्ने कि नगर्ने?’ भन्ने दुई विषयमा बहस भइरहेको छ। नियमित प्रक्रियाअनुसार मंसिर २८ गते वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि सकिँदै छ। यसै बेला पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा विशेष महाधिवेशन माग गरेका छन्।
कांग्रेस विधानअनुसार नियमित महाधिवेशन पदावधि सकिएको एक वर्षभित्र गर्न छुट छ। विशेष महाधिवेशन भने ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने स्पष्ट व्यवस्था छ। विधानको दफा १७(२) अनुसार यो प्रावधान बाध्यात्मक छ। उक्त उपदफामा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।’
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गरेपछि नेतृत्वमाथि तत्काल निर्णयको दबाब बढेको हो। त्यसैले ‘विशेष महाधिवेशनको माग सम्बोधन गर्ने कि नगर्ने?’ भन्ने विषय चर्चामा छ। यी दुई विषयलाई लिएर कांग्रेस नेतृत्वको संवैधानिक र राजनीतिक जिम्मेवारी बनेको पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
शर्माका अनुसार उक्त मागलाई दुई विकल्पले सम्बोधन गर्न सकिन्छ – विशेष महाधिवेशनको आयोजना गर्ने वा त्यही समयसीमाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने। यसमा अन्य कुनै ‘इफ, बट, इन्तु, परन्तु” को ठाउँ नरहेको शर्माले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्। कांग्रेस केन्द्रीय समितिमा यिनै विषयमा बहस भइरहेको नेताहरू बताउँछन्।
महामन्त्री शर्माले कांग्रेस केन्द्रीय समितिमा अहिले चलिरहेको छलफललाई ‘पार्टी र राष्ट्रिय जीवनका लागि निर्णायक’ भनेका छन्। उनले भने, ‘केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णयमा पुग्न आवश्यक छ। कांग्रेसले आफ्नो आन्तरिक ‘मूल प्रश्न’ समाधान गर्नु देशका ठूला प्रश्न समाधानतर्फको पहिलो कदम हुनेछ।’
कांग्रेसले भित्री विवादभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता थप प्रस्ट भएको शर्माले उल्लेख गरेका छन्।
चार मिति प्रस्ताव
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै चार मिति प्रस्ताव भएका छन्।
गत मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापाले पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका थिए।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य किरणराज शर्मा पौड्यालले नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर वैशाख ६ गते पार्टीको महाधिवेशन उद्घाटन गर्नुपर्ने प्रस्ताव राखेका छन्। शुक्रबारकै बैठकमा अर्का केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गते मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।



