काठमाडौँ- नेकपा (माओवादी केन्द्र) भित्र असन्तुष्टि बढेको छ। पार्टी एकताका विषयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले पार्टी बैठक नै बहिष्कार गरेपछि आन्तरिक विवाद सतहमा आएको हो।
उपमहासचिव शर्माले आइतबारको सचिवालय बैठक बहिष्कार गरेका हुन्। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शर्मा बैठकमा उपस्थित भएनन्। एकीकृत समाजवादीलगायतका वाम दलसँग पार्टी एकता गर्ने प्रस्तावप्रति शर्मा असन्तुष्ट छन्। उनले ‘माओवादी’ शब्द पार्टीको नामबाट हटाउन नहुने अडान लिँदै आएका छन्।
पार्टी स्रोतका अनुसार एकतापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)’ रहने प्रस्ताव गरिएको छ। यही नामका कारण प्रचण्ड र शर्माबीच विवाद चर्किएको हो। संस्थापन पक्षले शर्मामाथि अराजक गतिविधि गरेको आरोप लगाएको छ।
शनिबारको बैठकमा आफ्ना धारणा राखेपछि शर्मा बीचमै उठेर बैठक छाडेका थिए। त्यसप्रति संयोजक प्रचण्डले आपत्ति जनाएका छन्। प्रचण्डले शनिबारको बैठकपछि भने, ‘उहाँले आफ्नो विचार राख्नुभयो र त्यसपछि उठेर हिँड्नुभयो। त्यो राम्रो शैली होइन, कसैलाई मन पर्ने शैली पनि होइन। बसेर छलफल गर्नुपर्छ।’ पार्टीले माओवाद छोड्दैछ र महाधिवेशन टार्न खोज्दैछ भन्ने आरोपलाई संयोजक प्रचण्डले अराजक र निराधार भन्दै खारेज गरेका छन्।
बैठकले एकतामा आउने पार्टीसँग २० गते संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक विषय टुंगो लगाउने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए। त्यसअघि कात्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्नेछ। सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक विषयका साथै समायोजन, नीतिगत वैचारिक विषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो।
अहिले पार्टी एकीकरण वस्तुगत आवश्यकता रहेको दाबी सापकोटाले गरे। उनले भने, ‘योभन्दा ठूलो संकट यसअघि राष्ट्रमा आएको थिएन। त्यसैले विचार मिल्ने दलसँग एकता गर्नु अपरिहार्य छ।’ यसैगरी जेनजी आन्दोलनको भावनाको सबैभन्दा बढी कदर गर्ने दल माओवादी रहेको उनले बताए।
यसैगरी संयोजक प्रचण्डको सुरक्षा घेरा बलियो बनाउन अन्य दलसँग एकता गर्न लागिएको भन्ने आरोप गलत रहेको सापकोटाले बताए। उनले भने, ‘एकता नहुँदा मंसिर अन्त्यमा हुने भनिएको थियो। अब नयाँ मिति तय हुन्छ।’ माओवादीले एकीकृत समाजवादी, सुभास काफ्ले नेतृत्व गरेको जनसमाजवादी पार्टी, महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टीलगायतका दलसँग एकता प्रक्रिया अगाडि बढाएको छ। एकता प्रक्रिया अगाडि बढेपछि महाधिवेशन तत्कालका लागि टर्न सक्ने भएकाले शर्माले विरोध गर्दै आएका छन्।



