काठमाडौँ- नेकपा एमालेले आउँदो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि शुल्क निर्धारण गरेको छ।
महासचिव शंकर पोखरेलले महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने जानकारी गराउँदै शुक्लबारे पनि जानकारी दिएका छन्। उनका अनुसार आयोजक प्रतिनिधिका लागि तीन हजार र निर्वाचित प्रतिनिधिका लागि दुई हजार शुल्क निर्धारण गरिएको छ ।
आउँदो मंसिर १३ गते देशभरका सबै स्थानमा प्रतिनिधि चयन हुने र मंसिर १५ भित्र महाधिवेशन प्रतिनिधिको नाम पठाउन सकिने महासचिव पोखरेलले बताएका छन् ।
‘१,२०० पार्टी सदस्यबाट ४ जना प्रतिनिधि चयन गरिनेछ । जसमा १ जना महिला,१ जना ४० वर्षमुनिको युवा र २ जना खुला प्रतिनिधि रहनेछन् । प्रत्येक थप ८०० सदस्यमा १ जना प्रतिनिधि थपिनेछ’, महासचिव पोखरेलले भनेका छन्, ‘पहिलो प्रतिनिधि महिला हुने र चौथोमा पुनः महिला समावेश गरिनेछ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लामा जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ ।’
उनका अनुसार विशेष निर्वाचन इकाई अन्तर्गत दलित समुदायको निर्वाचन इकाई जिल्ला रहने छ। प्रत्येक ५०० मा एकजना प्रतिनिधि हुनेछन् ।
यसैगरी, ट्रेड युनियनको हकमा भूगोलको प्रदेशबाट २ महिलासहित ७ जना, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना निर्वाचित हुनेछन् ।
प्रत्येक प्रदेश कमिटीबाट ५ जना (जसमध्ये २ जना महिला अनिवार्य), पार्टी सम्बद्ध जनसंगठनबाट ५ जना (जसमध्ये २ जना महिला अनिवार्य), महासंघीय ढाँचाका संगठनबाट २ महिलासहित ७ जना, विभाग र केन्द्रीय कार्यालयबाट एक–एक जना प्रतिनिधि चयन हुनेछन्। केन्द्रीय कमिटीबाट मनोनीत प्रतिनिधिको संख्या कूल प्रतिनिधिको ५ प्रतिशत रहने महासचिव पोखरेलले बताएका छन्।
एमालेको ११ औं महाधिवेशन आउँदो मंसिर २७-२९ मा काठमाडौँमा हुने तय भएको छ।



