बीपी राजमार्ग। फाइल तस्बिर
काठमाडौँ- निरन्तर वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न अझै समय लाग्ने भएकाले पूर्वतर्फ जाने सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन्।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा ठूला पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण सडक पूरै अवरुद्ध छ।
चौकीडाँडामा पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसेपछि कार्य रोकिएको छ। लगातारको वर्षाले जोखिम बढेकाले फिलहाल पहिरो पन्छाउने काम रोकिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्ग खुल्न केही समय लाग्ने हुँदा यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र निस्कन अनुरोध गरिएको छ।




