मौसम सफा नभएसम्म पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

हिमाल प्रेस १४ कार्तिक २०८२ ६:२३ | Friday, October 31, 2025
22
SHARES
मौसम सफा नभएसम्म पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

कास्की- जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ।

प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजिअ शिवप्रसाद लम्सालले बताए।

यसैगरी प्रशासनले जिल्लाका विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ र सिक्लेस सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा समेत रोक लगाएको छ।

बर्सात्को समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नचढाउन र संयमतापूर्वक सवारी चलाउन आग्रह गरिएको छ।

प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ६:२३ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast