तीन महिनामा दुई लाख युवाले छाडे देश

हिमाल प्रेस १३ कार्तिक २०८२ २०:४१ | Thursday, October 30, 2025
26
SHARES
तीन महिनामा दुई लाख युवाले छाडे देश वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा रोजगारीका लागि देश छोड्ने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या २८.१४ प्रतिशतले बढेको हो।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई लाख सात सय ११ नेपालीले रोजगारी अनुमति प्राप्त गरेका छन्। अघिल्लो आवको सोही अवधिमा एक लाख ५६ हजार छ सय २५ थिए।

यो संख्याले आधिकारिक माध्यमबाट देश छोडेका नेपालीलाई मात्र समेट्छ। अधिकारीहरूका अनुसार विदेशमा रोजगारी खोज्ने वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ। किनभने धेरै युवा भिसा भ्रमणमा गएर पछि रोजगारीमा संलग्न हुँदै आएका छन्। साथै यसमा अध्ययनका लागि देश छाडेका युवाको संख्या समेटिएको छैन।

कोभिड–१९ महामारीपछि कामका लागि नेपाली युवा विदेश जाने क्रम बढिरहेको छ। आव २०८१/८२ मा आठ लाख ३९ हजार दुई सय ६६ नेपाली युवाले वैदेशिक रोजगारीका लागि अनुमति पाएका थिए। यो संख्या विगत तीन दशकमा सबैभन्दा बढी हो।

आव २०८०/८१ मा यो संख्या सात लाख ४१ हजार दुई सय ९७, २०७९/८० मा सात लाख ७१ हजार तीन सय ४७ र २०७८/७९ मा ६ लाख ३७ हजार एक सय ३३ थियो। यो तथ्यांकले बेरोजगार युवाका लागि विदेश महत्त्वपूर्ण विकल्प बन्दै गएको छ।

यस प्रवृत्तिलाई विप्रेषण रकमले पनि प्रतिबिम्बित गरेको छ। नेपाल राष्ट्र बैंक का अनुसार २०८१/८२ मा प्रेषण रकम १९.२ प्रतिशत बढेर १७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले तीन खर्ब ५२ अर्ब रुपैयाँ प्राप्त गरेको छ, जुन गत वर्षको समान अवधिसँग तुलना गर्दा ३३.१ प्रतिशतले धेरै हो।

विगत तीन वर्षमा करिब २५ लाख नेपाली रोजगारीको खोजीमा देश छोडिसकेका छन्। वार्षिक करिब ७ लाख ६६ हजार कामदार युवाले देश छाड्छन्। तीमध्ये करिब ६४ प्रतिशत पहिलो पटक आप्रवासी कामदार थिए। ३६ प्रतिशत युवा अनुमति नवीकरण गरेर छुट्टीमा फर्केपछि पुनः रोजगारीमा गएका थिए।

प्रकाशित: १३ कार्तिक २०८२ २०:४१ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast