काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ।
उक्त प्रणाली सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।
यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने भारी हिमपातको सम्भावना समेत रहेको छ। उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको विभागले जनाएको छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको विभागले जनाएको छ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाब, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने जनाउँदै विभागले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध छ।



