काठमाडौँ- भ्रष्टाचारविरुद्ध सक्रिय जेन्जी पुस्ताको युवा समूह ‘द रेड स्पार्क’ ले सरकारले रोकिएका सबै भ्रष्टाचारका फाइल तुरुन्त अनुसन्धान गरेर निष्कर्षमा पुर्याउन माग गरेको छ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा समूहका जेन्जी अभियान्ता काशीराम जैशी ले गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बासबारी छाला उद्योग काण्ड लगायतका मुद्दाहरूमा सरकारको निष्क्रियताप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल छानबिन अघि बढाउन आग्रह गरे।
उनले भने, ‘जनताको करबाट चल्ने राज्य संयन्त्रले भ्रष्टाचारका मुद्दा थन्काएर राख्नु अन्याय हो। अब जेन्जी पुस्ता मौन बस्दैन। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले खोलेका भ्रष्टचारका फाइलहरु खोल्न सरकार किन डराइरहेको छ , तुरुन्त फाइलहरु सरकारले खोलोस्’
कार्यक्रममा द रेड च्याप्टर र द रेड स्पार्क समुहले देशभरि भ्रष्टाचारविरुद्ध सचेतना र दबाब अभियान चलाउने घोषणा गर्दै पुराना राजनीतिक दलहरू, जेन्जी समूहहरू र नागरिक अभियन्ताहरूलाई अब एक भै सर्वपक्षीय छलफलमा सहभागी हुन आउन आह्वान गरे।



