दूध प्रशोधन गर्दै चितवनका दुग्ध उत्पादक सहकारी संघ

हिमाल प्रेस ९ कार्तिक २०८२ १२:४८ | Sunday, October 26, 2025
दूध प्रशोधन गर्दै चितवनका दुग्ध उत्पादक सहकारी संघ

चितवन- दुग्ध उत्पादक सहकारी संघको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आफैँले दूध प्रशोधन सुरु गरेको छ। संघले रत्ननगर नगरपालिका-५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रूपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ।

संघले स्थायी रूपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका-१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ। उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भइसकेको संघका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए।

उनले भने,‘अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ,अहिले दूधका साथै घिउ,नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको छ।’ उनका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ।

फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उनको भनाइ छ। भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने संघको लक्ष्य छ। ‘भविष्यमा आइसक्रिम, चकलेटलगायत पनि उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ’, उनले भने।

संघका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ। जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ। चितवनमा उत्पादन हुने दूध काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ। जिल्लाका ११५ वटा सहकारीले दूध संकलन हुने गर्दछ। ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध छन्।

प्रकाशित: ९ कार्तिक २०८२ १२:४८ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast