
इटहरी- कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले दीपावली, छठ, उधौली लगायतका चाडपर्वलाई लक्षित गरी चाडपर्व विशेष सुरक्षा योजना लागू गर्न सबै जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्। उनले भर्चुअल माध्यममार्फत पर्वका बेला सुरक्षासँगै सामाजिक मर्यादा, कानुन र सार्वजनिक अनुशासनको पालना सुनिश्चित गर्न आवश्यक तयारी तत्कालै थाल्न आदेश दिएका हुन्।
आइतबार भर्चुअल माध्यममार्फत् आयोजित बैठकमा डीआईजी कार्कीले चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्न निर्देशन दिए। पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि, कालोबजारी, खुला सिमानाका कारण हुने चोरी-तस्करी, लागुऔषधको ओसारपसार तथा प्रयोग, झैझगडा र जुवातासजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ निगरानी बढाउन निर्देशन दिए।
यस्तै मेला-पर्व, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतका संवेदनशील स्थानहरूमा प्रहरीको निगरानी सुदृढ बनाउन र सम्बन्धित निकायसँगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न उनले निर्देशन दिए। यात्रुहरूको आवागमन सहज बनाउन र सडक दुर्घटना हुन नदिन ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिन समेत उनले आग्रह गरे।
डीआईजी कार्कीले मौसम प्रतिकूलताका कारण विपद्का घटनाहरू भइरहेकाले प्रहरी संवेदनशील भई अन्य सुरक्षा निकायहरूसँग समन्वयमा परिचालन हुनुपर्ने आवश्यकता औंल्याए।
यसैबीच कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता राख्दै विशेष डग स्निफिङसहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरिरहेको छ।
सुनसरीका विभिन्न स्थानमा अहिले प्रहरीले दुईवटा तालिमप्राप्त कुकुरसहित २० जनाको संयुक्त टोली खटिएको छ। चाडपर्वको समयमा सवारी साधनहरूमा लुकाइछिपाइ गरी ओसारपसार हुन सक्ने विस्फोटक पदार्थ, लागुऔषध र अन्य अवैध सामान नियन्त्रणमा लिन प्रहरीले उक्त कदम चालेको डीआईजी कार्कीले जानकारी दिए।