भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै

हिमाल प्रेस २ कार्तिक २०८२ १७:५८ | Sunday, October 19, 2025
भक्तपुरका नेवार समुदायले फरकफरक दिनमा तिहार मनाउँदै नेवार समुदाय। प्रतिनिधिमूलक तस्बिर।

भक्तपुर- भक्तपुरका नेवार समुदायले स्वन्ती नखः (तिहार) पर्व फरकफरक दिनमा मनाउने भएका छन्। तिथि घटबढका कारण पर्व फरकफरक दिनमा मनाउन लागिएको हो।

नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज काग तिहार, कात्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा, कात्तिक ४ गते गाई तिहार, कात्तिक ५ गते गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत्को शुभारम्भ तथा कात्तिक ६ गते किजा पूजा एवं भाइटिका परेको छ।

यसैबीच, मध्यपुरथिमि नगरपालिकाका नेवार समुदायले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने भएका छन्। कात्तिक ४ गते साँझ ६:१५ बजेसम्म औंँसी तिथि रहेकाले सो दिन मात्र लक्ष्मीपूजा गर्न लागिएको थिमि लायकूका नायो पमाः (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताए।

मध्यपुरथिमि–७, नगदेशस्थित लायकू (दरबार) को आह्वानमा गत असोज ३० गते बसेको नगदेश लायकू दरबारका नायो पमाः, पमाः, नगदेशका सम्पूर्ण खलःका प्रतिनिधि, नेवा दे दबूका प्रतिनिधि, ज्यापू महागुठीका प्रतिनिधि तथा बुद्धिजीवीको बैठकले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने निर्णय गरेको हो।

बैठकले कात्तिक २ गते काग तिहार, ३ गते कुकुर तिहार, ४ गते लक्ष्मीपूजा, ५ गते म्हः पूजा, नेपाल संवत् र ६ गते किजा पूजा तथा भाइटिका मनाउने निर्णय गरेको नेवाः दे दबूका कृष्णबहादुर घजुले जानकारी दिए।

भक्तपुर नगरका नेवार समुदायले भने म्हः पूजा कात्तिक ४ गते गर्ने भएका छन् भने किजा पूजा (भाइटिका) कात्तिक ५ गते गर्ने भएका छन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत असोज २२ गते बसेको भक्तपुरको तलेजुका पूजारी तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पूजारी प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशीलगायत सहभागी थिए।

भक्तपुरका नेवार समुदायमा कुनै चाडपर्व मनाउन तिथिमा अन्योल उत्पन्न भए तलेजु र लायकूको निर्णायानुसार गर्ने प्रचलन रहेको छ। सोही अनुसार यसवर्ष पनि तिथि घटबढका कारण तिहार मनाउन अन्योल उत्पन्न भएपछि तलेजु र लायकूका पूजारी, ज्योतिषि र नायो पमाःहरूको बैठकले पर्व मनाउने दिन र समयका बारेमा निर्णय गरी सार्वजनिक गरेको हो।

प्रकाशित: २ कार्तिक २०८२ १७:५८ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast