
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कसैले थुन्न नसक्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शनिबार आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा ओलीले भने, ‘के कानुनले समाउँछ? के कानुनले थुन्छ? कुन लोकतन्त्रले थुन्छ? त्यो म हेर्छु। जथाभाबी गर्ने? मनपरी गर्ने? यो देश हाम्रो होइन?’
भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले जेनजी आन्दोलनमा ‘नरसंहार’ गरेको आरोपमा ओलीसहित पूर्ववर्ती सरकारका गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाएको छ। यसैगरी उनीहरूलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको आयोगले जनाएको छ।
आयोगको सोही निर्णयलाई लिएर ओलीले आफूलाई कसैले थुन्न नसक्ने दाबी गरेका हुन्। ओलीले भने, ‘झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन? हेर्न पनि जान नपाउने। साँगा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने। क्या गजबको सरकार छ! मलाई जति बेला काम पर्छ, त्यतिबेला म नेपालको सरहदरभित्र जहाँ पनि घुम्न जान सक्छु।’
भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा काठमाडौँ उपत्यकामा १७ जना र सुनसरीमा दुईजना गरी १९ जनाको ज्यान गएको थियो। सोही घटनाको प्रतिरोधमा भदौ २४ गते भएको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका देशका धेरै सरकारी कार्यालय र प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो। त्यस क्रममा सयौँ हतियार लुटिएका छन्। हजारौँ कैदीबन्दी जेलबाट भागेका थिए। दुई दिनमा ७४ जनाको ज्यान गएको थियो। यी सबै घटनामा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन भएर काम जारी राखेको छ।