अधुरै रह्यो दूधकोशीको चुहार पक्की पुल

हिमाल प्रेस ३० असोज २०८२ १५:४३
10
SHARES
अधुरै रह्यो दूधकोशीको चुहार पक्की पुल

भोजपुर- भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ।

कोशी प्रदेश सरकारले २१ करोड २३ लाख १२ हजार लागतमा कालिका-प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो। सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो।

लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पुल निर्माणमा भइरहेको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका बताए। ‘प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन,’ उनले भने, ‘हामी संयुक्त पहलमार्फत प्रदेश सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ। काममा ढिलाइ हुँदा नागरिकलाई प्रत्यक्ष असर पुगेको छ।’

संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राईसहित तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए।

दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन्।

२०७७ असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्छ। पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ।

स्थानीयवासीका अनुसार पुल बनेपछि यो क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्कमा सहजता आउनेछ। निर्माणकार्य लामो समयदेखि ठप्प हुँदा स्थानीय निरास भएका छन्। रासस

प्रकाशित: ३० असोज २०८२ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast