सोनल बने मधेशका मुख्यमन्त्री

हिमाल प्रेस २९ असोज २०८२ १९:४६
34
SHARES
सोनल बने मधेशका मुख्यमन्त्री

काठमाडौँ- लोकतान्त्रिक समाजवादी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन्। सोनललाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु,’ प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्तिपत्रमा उल्लेख गरेकी छन्।

यसअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंह अल्पमतमा परेर राजीनामा दिएपछि सोनल कांग्रेस र एमालेबाहेकका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि उनी लालबाबु राउत नेतृत्वको सरकारमा भौतिकमन्त्री रहेका थिए।

आफ्नो दल लोसपाका साथै उनलाई जसपा (नेपाल), जनमत पार्टी, माओावदी केन्द्र, एकीकृत समाजवादी र नाउपाले मुख्यमन्त्री बनाउन बुधबार बिहान प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको थियो।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। सोनललाई समर्थन जनाएका जसपा नेपालका १९, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नाउपाका १ सांसद छन्। सोनलको पक्षमा ५६ सांसद पुगेका छन्।

यसअघि जनमत पार्टीले नेपाली कांग्रेस–एमाले गठबन्धनसँग सरकार बनाउने भने पनि अन्तिम समयमा सोनललाई समर्थन गर्ने निर्णय गरेको थियो। सोनल मुख्यमन्त्री नियुक्त भएकै दिन निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई प्रदेश सांसद जनमत पार्टीबाट विभाजित भएको जनस्वराज पार्टीमा सनाखत गरेका छन्। निर्वाचन आयोगले सनाखत गर्न सात दिनको समय दिएकोमा सिंह र त्रिभुवन साह स्वराज पार्टीमा सनाखत गरेका हुन्। जनस्वराज पार्टीले सोनल नेतृत्वको सरकारलाई समर्थन नगरे अहिलेकै अवस्थामा उनको पक्षमा ५४ सांसदमात्र हुनेछन्।

सोनलका साथै मुख्यमन्त्रीका लागि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दाबी पेस गरेका थिए। उनले नेकपा एमालेका २३, कांग्रेसका २२ र जनमत पार्टीका १३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष हस्ताक्षर पेस गरेका थिए।

तर, जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरूले सोनललाई समर्थन जनाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पेस गरेपछि कांग्रेस संसदीय दलका नेता यादवको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो।

यसअघि जनमतका सिंहले पदबाट राजीनामा नदिँदै कांग्रेस, एमाले र जनमत पार्टीका संसदीय दलका नेताहरूले कांग्रेसका यादवको नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

 

प्रकाशित: २९ असोज २०८२ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast