 
                             
                                            पाल्पा– रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो भएको छ।
नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका थिएनन्। अहिले कार्यालयको भित्तामा बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिनेगरेको सेवाग्राही बताउँछन्।
सेवाग्राहीलाई मध्यनजर गर्दै तत्काललाई भित्तामा राखिएको छ भने प्रविधिको युग भएकाले डिजिटल राख्न कार्यालयले तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले बताए । ‘डिजिटल प्रविधिको राख्ने तयारीमा रहेकाले नयाँ भवनमा बडापत्र राखिएको थिएन’, उनले भने, ‘अहिलेलाई भित्तामा सबैले देख्नेगरी तयार पारेर राखेका छौँ, अब प्रविधिको बडापत्र तयार हुनेछ।’
नगरपालिका कार्यालयमा आफूले पाउने सेवासुविधा उल्लेख हुने भएकाले यो सेवाग्राहीको लागि उपयोगी र जानकारीमूलक सूचना पार्टी रहेको सेवाग्राही शर्मिला पौडेलले बताए ।
‘एक पटक बडापत्र सरसर्ती पढेपछि के के सेवा पाइने रहेछ सबै कुराको जानकारी हुन्छ, कहाँ कसरी सेवा लिन कोसँग सोध्ने भनेर अलमलमा पर्नुपरेन, यो हामी सेवाग्राहीलाई उपयोगी र जानकारी लिन सहज भएको छ’ उनले भने । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक बडापत्र हो। पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्न नागरिक बडापत्र महत्वपूर्ण औजार मानिन्छ।
रामपुर नगरपालिका कार्यालय र वडा नं ४, ५ र ७ को कार्यालयमा डिजिटल प्रविधिको बडापत्र राख्ने कार्यक्रम अनुसार आवश्यक विवरण संकलन गरिरहेको प्रशासन शाखा प्रमुख युवराज पन्थीले बताए।
नागरिक बडापत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ। सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो। नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसँग देखिने गरी राख्नुपर्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 