तत्काल घट्ने संकेत छैन सुनको भाउ

हिमाल प्रेस २८ असोज २०८२ २१:०६
28
SHARES
तत्काल घट्ने संकेत छैन सुनको भाउ

काठमाडौँ- सुनको मूल्य तोलामा एकै दिन ८ हजार एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

एक वर्षको अवधिमा सुनको मूल्य ८६ हजार ७ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार गत वर्ष असोजमा सुनको अधिकतम मूल्य तोलाको एक लाख ६१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य एक वर्षमा ५३ प्रतिशत बढीले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको व्यवसायीहरू बताउँछन्। सुनको मूल्य प्रतिऔंस चार हजार एक सय बाउन्न डलर पुगेको छ। अन्तर्राष्ट्रिय विश्लेषण अनुसार आउँदो समयमा सुनको मूल्य अझ बढ्ने देखिन्छ।

सुनको मूल्यवृदि्धमा आक्रामक प्रक्षेपण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस बैंक ५ हजार डलर सम्म पुग्ने आक्रामक प्रक्षेपण गरिएको छ। बैंक अफ अमेरिकाले सन् २०२६को अन्त्य सम्म सुनको मूल्य यो तहसम्म पुग्ने प्रक्षेपण गरेको हो । यद्यपि बैंकले निकट भविष्यमा करेक्सनको सम्भावनालाई भने अस्वीकार गरेको छैन।

गोल्डम्यान साक्सका विश्लेषकहरुले भने यो अवधिसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार नौ सय डलर पुग्ने अनुमान गरेका छन् । केन्द्रीय बैंकहरू र ईटीएफ लगानीकर्ताहरूबाट बलियो माग रहेको उल्लेख गर्दै गोल्डम्यान साक्सले सुनको मूल्य प्रक्षेपणलाई ४हजार ३ सयबाट बाट बढाएर ४हजार नौ सय डलर प्रति औंस पु¥याएको छ । गोल्म्यान साक्स एउटा अमेरिकी बहुराषि्ट्रय लगानी बैंक तथा वित्तीय सेवा कम्पनी हो ।

विश्वभरका ठूला केन्द्रीय  बैंकहरुको सुनको माग र लगानीकर्ताको विविधीकरणले सुनको मूल्य बढेको विश्लेषण गरिएको छ। विश्व अर्थतन्त्रमा मन्दी वा अनिश्चितताको डर बढ्छ। लगानीकर्ताहरू आफ्नो पैसा सुरक्षित राख्न चाहन्छन्। यस्तो अवस्थामा लगानीकर्ताहरूले सुनमा लगानी तुलनात्मक रूपमा बढी सुरक्षित मान्छन्। त्यसैले, लगानीकर्ताहरू सेयर बजार वा अन्य जोखिमपूर्ण सम्पत्तिबाट पैसा निकालेर सुनमा लगानी गर्छन् जसले गर्दा माग बढ्छ र स्वाभाविक रूपमा सुनको मूल्य पनि बढ्छ।

केन्द्रीय बैंकहरूको निरन्तर खरिद, विश्वभरका केन्द्रीय बैंकहरूले, विशेष गरी उदीयमान बजारका बैंकहरूले, आफ्नो रिजर्भ पोर्टफोलियोलाई अमेरिकी डलरबाट विविधीकरण गर्ने प्रयासमा सुन खरिद गरिरहेको विश्लेषण वर्ल्ड  गोल्ड काउन्सिल (डब्लूजीसी) ले गरेको छ। डब्लूजीसीको सर्वेक्षणअनुसार ९५ औँ केन्द्रीय बैंकहरूले आगामी १२ महिनामा विश्वव्यापी सुन भण्डार बढाउने अपेक्षा गरेका छन्।

‘प्रतितोला २ लाख ६०-६५ हजार रुपैयाँसम्म पुग्न सक्छ’ 

सुनको मूल्यमा हाल सम्मकै उच्च वृद्धि भएको छ। यसले नेपाली बजारमा कस्तो प्रभाव परेको छ?

तत्काल बजारमा सुनको मागमा कमी देखिएको छैन। तिहारका कारण पनि होला। लगत्तै बिहेबारीको सिजन आउँदै छ। त्यसैले पनि माग आइरहेको छ। तर सुनको मूल्यमा भएको उच्चवृद्धि विश्लेषण गर्दा भोलिका दिनमा व्यापारमा संकट आउन सक्ने कुरा हामीले पनि देखिरहेका छौँ। नेपालीले त सुन किन्नै नसकिने गरी सुनको भाउ वृद्धि भइरहेको छ र यो वृद्धि तत्काल रोकिने देखिँदैन। त्यसैले बजार धराशयी हुने अवस्थामा पनि पुग्न सक्छ।

अहिले बजारमा सुनको मागमा कतिको छ त?

तत्काल दैनिक झण्डै ४० किलो सुनको माग छ। तर भोलिका दिनमा  यस्तै माग रहिरहन्छ भन्ने छैन। नेपाली बजारमा अफ सिजनमा दैनिक १५ देखि २० किलो सुनको माग रहन्छ। तर जुन तरिकाले मूल्य बढ्दै गएको छ, भोलिका दिनमा १० तोला बनाउने २ तोलामा पनि झर्न सक्छन्। त्यसैले माग घट्न पनि सक्छ। तर अहिले बजार ड्राई नै छ।

व्यापारीहरूले कसरी धानिरहका छन् त बजारको माग?

नेपाल सरकारले दैनिक २५ किलो सुन आयात गर्न अनुमति दिएको छ। २५ किलोले व्यवसायीहरुले पुर्‍याउन नसकेको अवस्था छ। विदेशबाट आउदा लिएर आउने २५ र ५० ग्रामका सुन तथा पुराना सुन पनि रिसाइकल हुन आउने हुँदा दैनिक ३० किलो सुनले बजारको माग धान्न सक्छ। सरकारसँग हामीले ४० किलोकै माग राखेका छौँ। अर्कोतर्फ व्यापारीहरूले पुरानो भण्डारणका सुन घटाइरहेका छन्। पुसदेखि अफ सिजन सुरु हुने भएकाले त्यतिबेला आयातित सुनले फेरि स्टक बढाउन सकिनेछ। सोही कारण व्यापारीहरुले भण्डारमा भएको सुन निकालिरहेका हुन्।

पछिल्लो दुई दिनमा बैंकहरुले राम्रोसँग आयात गरिदिएकका कारण सहज भएको हो। चारवटा बैंकले दुई दिनमा दुई सय किलो सुन आयात गरिदिएका थिए। त्यो सुन आजबाट बिक्रीवितरण सुरु भएको छ। बजारमा केही मात्रामा राहत छ। धेरै ठूलो अभाव छैन।

मूल्यवृद्धि कहाँसम्म पुग्ने अनुमान गर्नुभएको छ ?

सुनको मूल्यवृद्धि तत्काल रोकिने सम्भावना देखिँदैन। प्रतितोला दुई लाख साठी ६५ हजार रुपैयाँसम्म पुग्ने देखिन्छ। त्यसपछि तल झर्ने अथवा स्थिर रहने भन्ने कुरा पनि अन्तर्राष्ट्रिय बजारको अवस्थाले निर्धारण गर्छ। यसको सबैभन्दा मुख्य कारण अमेरिका हो। भर्खरै अमेरिकाले चीनलाई फेरि सय प्रतिशत भन्सार महसुल लगाएको छ। त्यसपछि ह्वात्तै सुनको भाउ माथि उक्लिँदै गएको हो। अमेरिकाले आफ्नो विदेश र व्यापार नीति लचिलो बनायो भने सुनको भाउ घट्न सक्ला नभए तत्काल घट्ने संकेत देखिँदैन।

अर्कोतर्फ डलर कमजोर बनाउने भनेर शक्तिशाली मुलुकहरू चीन, रुस, टर्की, पोल्यान्ड र भारतले ठूलो परिमाणमा सुन खरीद गरेर भण्डारण गरेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव भएको छ।

प्रकाशित: २८ असोज २०८२ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast