दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव

हिमाल प्रेस २७ असोज २०८२ १८:४४ | Monday, October 13, 2025
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ- जनता समाजावदी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतकि दलहरूको सहभागिताविना निर्वाचन हुन नसक्ने बताएका छन्।

सोमबार जनकपुरधाममा जसपा नेपाल मधेश प्रदेशको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको प्रमुख सरोकारवाला राजनीतिक दल भएकाले उनीहरूविना चुनाव हुन नसक्ने बताएका हुन्।

अध्यक्ष यादवले निर्धारित समयमा चुनाव हुनेबारे अन्योलता देखिएको बताए। आवश्यकताको सिद्धान्तका आधारमा बनेको अन्तरिम सरकारको मुख्य दायित्व ६ महिनाभित्र चुनाव गराउनु रहेको उल्लेख गर्दै उनले भने,‘यो सरकारले निर्धारित समयमा चुनाव गराउन सक्छ कि सक्दैन भन्ने अन्योल छ। सरकार निर्वाचनको बाटोमा अगाडि बढेको छैन।’

चुनावका सम्बन्धमा सरकारले दलहरूसँग छलफलसमेत नगरेको भन्दै असन्तुष्टि जनाए। ‘दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन। सरकारले बलजफ्ती गरे त्यो निर्वाचन ज्ञानेन्द्रले गराएको निर्वाचनभन्दा फरक हुँदैन। मुलुक झनै द्वन्द्वमा फस्छ। सरकारले अविलम्ब दलहरूसँगको संवादलाई अगाडि बढाउनुपर्‍यो।’

समयमै निर्वाचन हुनेप्रति जनता विश्वस्त हुन नसकेकै कारण थप अन्योलता र अनिश्चितता सिर्जना भएको उनको भनाइ छ। उनले मुलुक अन्योलता र अनिश्चितताको भूमरीमा फसेको जिकिर गरे।

कांग्रेस–कम्युनिस्टहरूको लुटतन्त्रविरूद्ध भएको जेनजी विद्रोहपछि अन्तरिम सरकार गठन भए पनि मुलुक अन्योलताबाट निस्कन नसकेको यादवले बताए।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विकल्प नभएको भन्दै उनले संविधान पुर्नलेखन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २७ असोज २०८२ १८:४४ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast