मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण

हिमाल प्रेस २७ असोज २०८२ १६:५३
16
SHARES
मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको नियमित महाधिवेशन गर्न नेतृत्वलाई ध्यानाकर्षण गराएको छ। युवा नेताहरूले सोमबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई नियमित महाधिवेशन गर्न ध्यानाकर्षण गराएका हुन्।

पार्टी कार्यालय सानेपामा संविधानसभा सदस्य रन्जित कर्ण, नेविसंघका पूर्वउपाध्यक्ष भुपेन्द्रजंग शाही, दीपक भट्टराई, मनहरी श्रेष्ठ, युपी लामिछाने, रिता शाही, कुमार शाही, दीपक सोनी, बद्री अर्याल, शिव रिमाल, तीर्थ गौतम, बद्रीप्रसाद मुडवरीलगायतका नेताहरूले मुख्यसचिव पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

विधिवत र नियमित महाधिवेशनमात्र नेपाली कांग्रेसको सबै तहका युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम रहेको भन्दै युवा नेताहरूले नियमित अधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

‘पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरूपमा अघि बढाउन सक्ने एकमात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशनमात्र हो भन्ने हाम्रो निष्कर्ष हो,’ ध्यानाकर्षणपत्रमा भनिएको छ।

युवा नेताहरूले मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना ल्याउनसमेत केन्द्रीय समितिलाई अनुरोध गरेको छ।

‘१५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुनसक्ने आधार र कार्ययोजना ल्याउन नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौँ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ।

उनीहरूले महाधिवेशन गर्न बहानाबाजी गरिए वर्तमान कार्यसमिति गर्नुपर्ने जिकिर गरेका छन्। उनीहरूले भनेका छन्,‘यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भंगको जोडदार माग समेत गर्दछौँ।’

कांग्रेसका युवा नेताहरूले भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंशको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग समेत गरेका छन्।
त्यस्तै भदौ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी आरजुदेउवामाथि भएको बर्बतापूर्ण आक्रमणको युवा नेताहरूले भत्र्सना गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast