काठमाडौँ- फिल्म ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ। फिल्म सगरमाथा आरोहण र त्यस क्रमकाे प्रेमकथामा आधारित छ।
फिल्मका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय फिल्म बनाउने कोसिस गरेको बताए। उनले भने, ‘हामीले नेपालको सौन्दर्यलाई फिल्ममा प्रस्तुत गरेका छौँ। फिल्मको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको छ। यसले पर्यटनमा टेवा पुर्याउने अपेक्षा लिएको छु। नेपाली फिल्म भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ।’
उनले फिल्म असोज ३१ देखि नै नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडालगायत देशमा प्रदर्शन हुने जानकारी दिए। फिल्मका अभिनेता भुवन केसीले फिल्ममा नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण रहेको बताए।
‘मैले फिल्ममा लामो समय बिताएको छु। कलाकार, निर्माता र निर्देशकका रुपमा काम गरेको अनुभवले पनि यो फिल्म नेपालीभन्दा गौरव लाग्छ। सम्पूर्ण सदस्यको मेहनतले यो एउटा अन्तर्राष्ट्रिय स्तरको फिल्म बनेको छ’, उनले भने।
अभिनेता केसीसँगै फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन्। अभिनेत्री शर्माले फिल्ममा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराउँदै आफ्नो राम्रो फिल्म मध्येको एक रहेको बताइन्।
मैले यो फिल्ममा निकै मेहनत गरेकी छु र मेरो कलाकारिताकै एउटा राम्रो र स्तरीय फिल्म बनेको भन्न सक्छु। हामी अभिनेत्रीलाई पर्दामा राम्री देखिउ भन्ने लाग्छ। यसमा एउटा अभिनेत्रीले सपना देख्ने सम्पूर्ण इच्छा पूरा भएको छ’, अभिनेत्री शर्माले भनिन्।
अनन्या फिल्म्स प्रोडक्सनमा बनेको फिल्म सुयोग गुरूङले निर्देशन गरेका हुन्। हेमराज बिसीको कथा रहेको फिल्म विश्वास तिम्सिनाको पटकथा लेखन र दुलिप रेग्मीले छायांकनमा बनेको छ।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


