बीपी राजमार्ग एकतर्फी सञ्चालन

हिमाल प्रेस २४ असोज २०८२ १८:४४
14
SHARES
बीपी राजमार्ग एकतर्फी सञ्चालन फाइल तस्बिर

काठमाडौँ– बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।

राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए।

उनका अनुसार राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने छ।

अवरुद्ध सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो।

साथै काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो) मा सडक क्षति पुगेको थियो। त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) मा क्षति पुगेको न्यौपानेले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए। उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए।

प्रकाशित: २४ असोज २०८२ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast