दीपावलीमा बिदा दिने तेस्रो राज्य बन्यो क्यालिफोर्निया

हिमाल प्रेस २२ असोज २०८२ ८:२५
14
SHARES
दीपावलीमा बिदा दिने तेस्रो राज्य बन्यो क्यालिफोर्निया फाइल तस्बिर

लज एन्जलस- अमेरिकाको क्यालिफोर्निया दिन्दूहरूको तिहार ( दीपावली) पर्वमा बिदा दिने तेस्रो राज्य बनेको छ। राज्यपाल गेभिन न्युसेमले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गर्दै सन् २०२५ जनवरी १ देखि लागू हुने व्यवस्था गरेका हुन्। यसअनुसार सार्वजनिक विद्यालय र सामुदायिक कलेजमा दीपावलीको अवसरमा बिदा दिइनेछ। राज्यका कर्मचारीहरूले पनि सो दिन बिदा पाउनेछन्। नयाँ कानुनले दीपावली हिन्दुहरू मात्र होइन, सिख, जैन र बौद्ध समुदायले पनि मनाउने पर्व हो भन्ने कुरालाई मान्यता दिएको छ।

दीपावलीमा बिदा दिने पेनसिल्भेनिया पहिलो अमेरिकी राज्य हो। उक्त राज्यले सन् २०२४ मा दीपावलीमा बिदा दिने थालनी गरेको थियो। साथै कनेक्टिकटले पनि सो कदम पछ्याएको छ।

विधेयकका सहलेखक सान होसेका डेमोक्र्याट सांसद आश कलराले भने, ‘म बाल्यकालमा परिवारसँग दीपावली मनाउने गर्थेँ। त्यो अनुभव भिन्नै हुन्थ्यो।’ उनले दक्षिण एसियाली बालबालिकाले गर्वका साथ यो पर्व मनाउन र अरूसँग बाँड्न सक्ने अवस्था आउनुलाई महत्त्वपूर्ण क्षणका रूपमा लिएका छन्।

क्यालिफोर्नियाको सिलिकन भ्यालीमा अवस्थित सान होसे सहरमा उल्लेख्य संख्यामा भारतीय-अमेरिकी समुदाय बसोबास गर्छ। सन् २०२५ एक सर्वेक्षणअनुसार अमेरिकामा रहेका करिब ४९ लाख भारतीयमध्ये ९ लाख ६० हजार (अर्थात् करिब २० प्रतिशत) क्यालिफोर्नियामा बस्छन्।

हिन्दू अमेरिकन फाउन्डेसन र कोएलिसन अफ हिन्दूज इन नर्थ अमेरिकासहितका हिन्दू अमेरिकी संस्थाहरूले यस कानुनका पक्षमा वकालत गरेका थिए।

‘विद्यार्थीले सजिलै बिदा लिन पाउने र राज्यका कर्मचारीले तलबसहितको बिदा पाउने व्यवस्था हुनु दीपावलीलाई वास्तवमै सबैका लागि सुलभ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो,’ हिन्दू अमेरिकन फाउन्डेसनका प्रबन्ध निर्देशक समीर कलराले भने।

दीपावली शब्द संस्कृतको ‘दीपावली’ बाट आएको हो, जसको अर्थ ‘दीपहरूको पंक्ति’ हुन्छ। यस दिन मानिसले अन्धकारमाथि प्रकाशको र अज्ञानमाथि ज्ञानको विजयको प्रतीकस्वरूप दीपहरू बाल्छन्। यो पर्व उत्सवमय जमघट, आतसबाजी र पूजापाठसहित उल्लासपूर्वक मनाइन्छ।

दीपावली हिन्दूहरूको प्रमुख धार्मिक पर्व हो, यो सिख, जैन र बौद्ध समुदायले पनि मनाउँछन्। सिख कोएलिसनकी वरिष्ठ राज्य नीति प्रबन्धक पुनित कौर सन्धुले भनिन्, ‘हाम्रो समुदायका सबैले यो दिन एकसाथ मनाउन पाउनु अत्यन्त अर्थपूर्ण कुरा हो।’

दक्षिण क्यालिफोर्नियास्थित साउथ एसियन नेटवर्कका बोर्ड अध्यक्ष रोहित सेन्द्रिकरका अनुसार नयाँ कानुनले क्यालिफोर्नियामा दक्षिण एसियाली समुदायको मात्र होइन, राज्यमा उनीहरूले पुर्‍याएको प्रभावको पनि औपचारिक मान्यता दिएको छ। उनी सन् १९६० को दशकमा यहाँ बसाइँ सरेका हुन्। उनले भने, ‘म अहिले पनि आमाबाबु र आफ्ना छोराछोरीसँग घरमा सँगै दीपावली मनाउँछु। अब मेरा छोराछोरीलाई आफ्ना परम्परा र संस्कार साथीहरूसँग बाँड्ने अवसर मिल्नेछ। यसले क्यालिफोर्नियालीहरूबीच आपसी सम्बन्ध र एकताको भावना बलियो बनाउन मद्दत गर्छ।’  -एपी

प्रकाशित: २२ असोज २०८२ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast