
काठमाडौँ- सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फन्ड र आफ्नै मुनाफाबाट २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण सुरू गरेको छ।
कम्पनीले जनाएअनुसार सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूको उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित कोषबाट २०८२ भदौ १२ गतेसम्म कायम रहेका इकाइधनीहरूलाई प्रतिफल वितरण गर्न थालिएको हो।
सिटिजन्स म्युचुअल फन्ड–२ का इकाइधनीहरूले करसहित ८.२५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्, जसको रकम ४ करोड ६२ लाख रुपैयाँ हुनेछ। त्यस्तै सिटिजन्स सुपर–३० म्युचुअल फन्डका इकाइधनीहरूलाई करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण हुनेछ, जसको कुल रकम ९ करोड ५७ लाख १७ हजार २९७ रुपैयाँ रहेको छ। यी दुवै फन्डका लाभांश वितरण भदौ २० गतेदेखि सुरू गरिएको कम्पनीले जनाएको छ।
यसअघि परिपक्व भइसकेको सिटिजन्स म्युचुअल फन्ड–१ ले ९.११३० को दरमा खुद सम्पत्ति मूल्यका आधारमा ९२ करोड ६६ लाख ३ हजार ७३३ रकम वितरण गरेको कम्पनीले जानकारी दिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट पनि सेयरधनीहरूलाई ३ करोड ३० लाख बराबरको लाभांश वितरण गरिरहेको जनाएको छ।
कम्पनीले वितगका वर्षहरूमा वितरण गरिएको नगद लाभांश अझै नबुझेका इकाधनीहरूलाई आफ्नो बैंक खाता अद्यावधिक गरी सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, अन्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा सञ्चालन गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो।
कम्पनीमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ।