
काठमाडौँ- भारतको मध्यप्रदेशमा पर्ने छिन्दवाडा जिल्लामा ‘कोल्डरिफ’ नामक कफ सिरप पिएर १४ बालबालिकाको मृत्यु भएपछि अन्य धेरै राज्यहरूलाई सतर्क बनाएको छ। यस घटनापछि उत्तर प्रदेश, महाराष्ट्र, तमिलनाडु, उत्तराखण्ड, राजस्थान, तेलंगाना र केरललगायत राज्यहरूले उक्त कफ सिरपमाथि प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मध्यप्रदेशमा पनि ‘कोल्डरिफ’ कफ सिरपलाई प्रतिबन्ध गरिएको छ। उक्त सिरप उत्पादन गर्ने कम्पनीका अन्य औषधि उत्पादहरूको बिक्रीमाथि पनि रोक लगाइँदै छ। राज्यका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्समार्फत यस घटनाको अनुसन्धानका लागि राज्यस्तरीय समिति गठन गरिएको र सो समितिलाई तमिलनाडु पनि पठाइने जानकारी दिए। उक्त कफ सिरप तमिलनाडुमा उत्पादन गरिएको थियो।
प्रहरीले सिरपको प्रेस्क्रिप्सन लेख्ने चिकित्सक प्रदीप सोनी र सिरप उत्पादन गर्ने कम्पनी ‘श्री सन फार्मास्युटिकल्स’ विरुद्ध मुद्दा दर्ता गरेको छ। मध्यप्रदेशका उपमुख्यमन्त्रीका अनुसार प्रयोगशालाबाट प्राप्त नतिजामा उक्त कफ सिरपमा ४८.६ प्रतिशत डायथिलिन ग्लाइकोल भेटिएको छ, जुन प्रतिबन्धित रसायन हो। यिनै रसायनको कारणले बालबालिकाहरूको मृत्यु भएको आशंका छ।