प्राकृतिक विपद्मा देखिन सक्छ पानीजन्य रोग, कसरी बच्ने?

केशव राना क्षेत्री १९ असोज २०८२ १८:५१ | Sunday, October 5, 2025
प्राकृतिक विपद्मा देखिन सक्छ पानीजन्य रोग, कसरी बच्ने?

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का कारण पानीजन्य र कीटजन्य रोगको महामारी फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अविरल वर्षा र बाढीपहिरोपछि खानेपानीका स्रोतहरू प्रदूषित हुने र वातावरण असुरक्षित हुने भएकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने मन्त्रालयको चेतावनी छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विपद्को तत्कालपछि चोटपटक र भौतिक क्षतिको जोखिम देखिए पनि त्यसको केही समयपछि संक्रामक रोगहरू फैलिने प्रबल सम्भावना रहन्छ । ‘विपद्का बेला पानी प्रदूषित हुँदा पखाला र हैजा जस्ता पानीजन्य रोग बढ्छन्,’ डा. बुढाथोकीले भने, ‘यसका साथै लामखुट्टेको टोकाइबाट हुने डेंगी र मलेरिया जस्ता कीटजन्य रोगको जोखिम पनि उत्तिकै रहन्छ ।’

बढ्न सक्छन् यी समस्या

मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा बसोबास र खानपानको उचित प्रबन्ध नहुँदा थप स्वास्थ्य समस्या देखिन सक्ने बताएको छ । प्रवक्ता बुढाथोकीका अनुसार हालको अवस्थामा निम्न समस्याप्रति सचेत रहनुपर्छ:

  • पानीजन्य तथा कीटजन्य रोग: हैजा, पखाला, डेंगी र मलेरिया ।

  • मौसमी समस्या: आँखा पाक्ने रोग र खानपानसँग सम्बन्धित संक्रमण ।

  • मानसिक स्वास्थ्य: प्राकृतिक विपत्तिका कारण उत्पन्न हुन सक्ने तनाव र मानसिक समस्या ।

बच्ने उपाय र सरकारी तयारी

मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत समुदायमा सचेतना फैलाउन सुरु गरेको जनाएको छ । शुद्ध उमालेको पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयको सुझाव छ ।

आपतकालीन अवस्थाका लागि मन्त्रालयले देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दुर्घटना वा चोटपटक लागेर स्वास्थ्य संस्था जानु परेमा तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सका लागि हटलाइन १०२ मा सम्पर्क गर्न सकिनेछ । यस्तै, स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्शका लागि १११५ मा फोन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित: १९ असोज २०८२ १८:५१ | Sunday, October 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast