प्रधानाध्यापक सुमनको बयान- श्रीमतीसँग मनमुटाव थियो, आवेशमा मारिदिएँ

विवेक विवश रेग्मी १७ असोज २०८२ १६:१४
1.2k
SHARES
प्रधानाध्यापक सुमनको बयान- श्रीमतीसँग मनमुटाव थियो, आवेशमा मारिदिएँ अनिशा भट्टराईको तस्बिर

इटहरी- सोमबार राति इलाका प्रहरी कार्यालय इटहरीमा फोन आयो- ‘इटहरी १२ खनारमा श्रीमान्-श्रीमतीबीच झैझगडा भयो, घटना गम्भीर छ।’ लगत्तै प्रहरी चौकी खनारबाट प्रहरीको टोली घटनास्थलमा पुग्यो। घटनामा गम्भीर घाइते भएकी अनिशा भट्टराईलाई तत्कालै उद्धार गरी एम्बुलेन्समार्फत विराट टिचिङ अस्पताल पुर्‍याइयो। त्यतिबेलासम्म इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालको टोली घटनास्थलमा पुगिसकेको थियो।

हमाल पुग्दा स्थानीय बासिन्दाको भीड थियो। त्यसलगत्तै घटनामा संलग्न खोटाङको ऐसलुखर्क गाउँपालिका-१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहाललाई नियन्त्रणमा लिइयो। घटनामा प्रयोग भएको काठको बटमसमेत बरामद गरियो। स्थानीयले उनलाई घेरेर राखेका थिए।

९ः१५ बजेतिर विराट टिचिङमा रहेको प्रहरीले फोनमा भन्यो- ‘घाइतेलाई बचाउन सकिएन। डाक्टरले मृत घोषित गरे।’ पक्राउ परेका दाहाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा पुर्‍याइएपछि मृतकका आफन्तलाई फोनमार्फत जानकारी दिइयो। मंगलबार बिहानसम्म आफन्तले सबैलाई जानकारी गराए।

सुमनले श्रीमती अनिशालाई टाउको, नाक र कानमा काठको बटमले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनिशाको निधन भएपछि प्रहरीले अदालतबाट जरुरी पक्राउ पुर्जीको अनुमति लिएर अहिले सुमनमाथि अनुसन्धान गरिरहेको छ। ‘आफन्तलाई बोलाएर मुचुल्का गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ,’ डीएसपी हमालले भने, ‘पोस्टमार्टम सकिएको छ, आज आफन्तलाई जिम्मा लगाइनेछ।’

हत्यामा संलग्न सुमनले गत साउनयता श्रीमती अनिशासँग सम्बन्ध चिसिएको बयान दिएका छन् । ‘साउन अन्तिमतिरबाट सम्बन्ध चिसिएको थियो,’ उनले बयानमा भनेका छन्, ‘मैले इटहरीमा पढाउन राखेको थिएँ, अन्ततिर काम गरेको थाहा पाएँ।’ डीएसपी हमालका अनुसार सुमनले चित्त नबुझेकाले आवेशमा आएको बताएका छन्। ‘मनमुटाव थियो, आवेशमा आएर रिस पोखेँ’, उनले भनेका छन्, ‘म पहाडमा पढाउँथेँ, उनलाई यहाँ लोकसेवा पढाउन राखेको थिएँ।’

मानिसको ज्यानै जाने गरी अपराध गरेपछि विभिन्न कोणबाट अहिले अनुसन्धान भइरहेको डीएसपी हमाल बताउँछन्। ‘अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले हिमालप्रेससँग भने, ‘थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’ जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले घटनाबारे सूक्ष्म किसिमबाट अनुसन्धान भइरहेको जानकारी दिए। ‘हत्याजस्तो अपराध के कारणले भयो भन्नेबारे सूक्ष्म किसिमले विभिन्न कोणबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनाको पृष्ठभूमिबारे विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्छ।’

सुमन र अनिशाबीच दुई वर्षअघि मागी विवाह भएको हो। अनिशा यसअघि करारमा शिक्षण सेवा गर्थिन्। उनले जागिर छाडेर लोकसेवा पढ्दै आएको पारिवारिक स्रोतले जनाएको छ। उनले एक निजी क्षेत्रमा  काम गर्दै आएकी थिइन्। काम गरेको चित्त नबुझेपछि सुमनले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न दाहाल खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुन्। उनी समय-समयमा खोटाङ र इटहरी आवतजावत गर्थे। दुई महिनायता चिसिएको सम्बन्धका कारण ज्यानै लिनेसम्मको घटना हुनु अस्वाभाविक रहेको उनीहरूलाई चिनेजानेकाले बताएका छन्।

अनिशासँगै स्नातक अध्ययन गरेका धनकुटाका सन्तोष सुवेदीका अनुसार उनी मिजासिली र नरम स्वभावकी थिइन्। सुमन र अनिशाबीचको सम्बन्ध राम्रै भइरहे पनि अचानक यस्तो घटनाले गाउँले झस्किएको उनले सुनाए। इटहरीमा अनिशा र उनका भाइ अर्जुन सँगै बस्दै आएका थिए। दिदीभाइ सँगै बस्दै आए पनि सुमन खोटाङबाट आएपछि घर पठाइएको थियो।

‘तीन दिनअघि मात्रै सुमनले अर्जुनलाई घर जाँदै गर्नु, हामी इटहरीमै टीका लगाएर दसैँ मान्न आउँछौँ भनेका रहेछन्,’ सुवेदीले भने, ‘सुमनले ‘खोटाङमा हाम्रो घर भए पनि यस वर्ष इटहरीमै टीका लगाएर आउँछौँ’ भनेपछि अर्जुन घर आएका थिए। बहिनीको मृत्युको घटना अकल्पनीय भयो। अझै पनि विश्वास लागिरहेको छैन।’

प्रकाशित: १७ असोज २०८२ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast