प्रतिशोधको राजनीतिमा नउत्रिन सरकारलाई कांग्रेसको चेतावनी

हिमाल प्रेस १५ असोज २०८२ ८:४७
56
SHARES
प्रतिशोधको राजनीतिमा नउत्रिन सरकारलाई कांग्रेसको चेतावनी कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिसोधपूर्ण रूपमा सरकार उत्रिएको कांग्रेसले आरोप लगाएको हो।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठन भएको न्यायिक आयोगको कार्यदेशप्रति आपत्ति जनाउँदै कांग्रेसले यस्तो आरोप लगाएको हो।

आन्दोलनका क्रममा लुटपाट, आगजनी, तोडफोडलगायतका घटनामा संलग्न व्यक्तिउपर कानुनबमोजिम कुनै खोजतलास नगर्ने, कानुनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट ९ असोजमा जारी विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनको धज्जी उडाएको कांग्रेसले जिकिर गरेको छ।

‘…दल विशेषका नेताहरूमाथि बदलापूर्ण प्रतिशोध लिने उद्देश्यले छानीछानी आक्रमण गर्ने उनीहरूका कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुट्ने अनि सोही बर्दि लगाई हातहतियार बोकेर आतंक फैलाउँदै हिँडेको अवस्थामा देखिएका व्यक्तिउपर प्रचलित कानुनबमोजिम कुनै खोजतलास नगर्ने, कानुनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट असोज ९ मा जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनको धज्जी उडाएको छ। यसरी पीडितलाई आतंकित गर्ने र सप्रमाण भेटिएका अपराधिलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति हो भने नेपाली जनताका लागि कदापि स्वीकार्य हुने छैन,’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्।

घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिसोधपूर्ण रूपमा ‘कथित’ आयोगको हवाला दिँदै गैरकानुनी, गैरसंवैधानिक रुपमा तथा व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने गरी आयोगलाई क्षेत्राधिकारविहीन काम गराउन सरकार उद्यत रहेको कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका प्रतिसोधपूर्ण निर्णय गरिएको दाबी गरेको छ। कांग्रेसले सरकार तोकिएकोभन्दा अर्को बाटो हिँड्न खोजेको आरोपसमेत लगाएको छ।

‘…सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिनेगरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्को बाटोमा हिँड्न खोजेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिसोधपूर्ण राजनीति नगर्न कांग्रेसले अन्तरिम सरकारलाई सचेत गराएको छ।

प्रकाशित: १५ असोज २०८२ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast