
काठमाडौँ- राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी जेनजी युवाले भदौ २३ र २४ गते प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि सरकारले विशेष व्यवस्था गर्ने भएको छ।
गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। घाइते भएका व्यक्तिहरूको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि मन्त्रालयले असोज १२ गतेदेखि सहायता कक्ष स्थापना गरी घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइने भएको छ।
यसैगरी घाइते भएका व्यक्तिहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरू तोक्नेछ। ती अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरिने गृह मन्त्रालयको सूचनामा उल्लेख छ। साथै घाइते भएका व्यक्तिहरूलाई तोकिएका अस्पतालमा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकिनेछ।
घाइते भएका व्यक्तिको वर्गीकरण गर्नका लागि उपचारमा संलग्न अस्पतालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने निर्णय भएको छ।
घाइते भएका व्यक्तिहरूको उपचार सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ मार्फत सहजीकरण गर्ने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ।
फलोअपमा जानुपर्ने घाइते भएका व्यक्तिहरूलाई आवतजावतका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एम्बुलेन्ससँग सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने व्यवस्था मिलाई सम्पर्क नम्बरसमेत सार्वजनिक गरिने भएको छ। घाइते भएका व्यक्तिहरूको परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्ने व्यवस्था मिलाइने पनि सूचनामा उल्लेख छ।