यी हुन् २०८२ सालका चर्चित १० दसैँ गीत

सुस्मिता बजगाईं १२ असोज २०८२ १२:२३
42
SHARES
यी हुन् २०८२ सालका चर्चित १० दसैँ गीत

काठमाडौँ- नेपालीको महान् चाड दसैँ। यही समयमा कामबाट बिदा लिएर गाउँ जाने, परिवार र साथीभाइसँग भेटघाट र रमाइलोले छुट्टै हर्ष ल्याउँछ। त्योसँगै घटस्थापनादेखि बज्ने मालाश्री धुनले नै हो मानिसलाई दसैँको उमंगले छुने। कालजयी बनेको मालश्री धुनसँगै केही पुराना गीत छन् जुन बर्सेनि  विगतका दसैँ सम्झाउँछ।

त्यसो त, संगीतकर्मीहरूले नयाँ भाका, शैली र परिवेश समेटेर बर्सेनि नयाँ गीत सार्वजनिक गरिरहेका हुन्छन्। यस वर्ष सरकारको सामाजिक सञ्जाल बन्द घोषणालगत्तै भएको जेनजी आन्दोलनको प्रभाव दर्शक त्यति रमाउन सकिरहेका छैनन्। यसैबीच नजिकिँदै गरेको दसैँ लक्षित गरेर संगीतकर्मीहरूले नयाँ दसैँ गीत ल्याएका छन्।

युट्युबमा आउने भ्युजका आधारमा कुन गीत कति चले भनेर मापन गर्ने गरिन्छ। आन्दोलनकै प्रभाव भनौँ, विगतका वर्षको तुलनामा निकै कम गीत सार्वजनिक भएका छन्। आए पनि तिनको युट्युबमा भ्युज न्यून छ। कतिपय संगीतकर्मीहरूले विगतका गीतलाई पुनः अपलोड गरेका पनि छन्। यस वर्ष हर्ष, उमंग र पीडाबोधका गीत दर्शक/श्रोताको रोजाइमा परेका छन्। यी हुन् यस वर्षका चर्चित १० दसैँ गीत :

दसैँ र तिहार आयो बरिलै

यस वर्ष सार्वजनिक दसैँ गीतमध्ये चर्चामा ‘दसैँ र तिहार आयो बरिलै’ रहेको छ। गीत कमल सौराग र रुपी सिजाली मगरले गाएका छन्। गीत विमल अधिकारीको शब्द र संगीतमा बनेको हो। गीतमा परदेशी घर आउदै गरेको दसैँ र तिहारले मनमा खुसीयाली छाएको व्यक्त गरिएको छ।

त्यस्तै, लेकमा कोदो र बेसीमा धान झुल्ने समयको पनि बयान गरिएको छ। पर्वको हर्ष समेटिएको गीतको भिडियोमा बिमल अधिकारी, सलिना खत्री, अस्मिता रनपाल र ममता राना मगरको अभिनय गरेका छन्। भिडियो मुकेश नेपालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो।

टीका जमरा

मेलिना राई र नारायण गजमेरको स्वरमा सार्वजनिक ‘टीका जमरा’ बोलको गीत पनि चर्चामा छ। दीपकराज विश्वकर्माको शब्द, संगीत र संगीत संयोजनमा बनेको गीतले दसैँको खुसी व्यक्त गरेको छ।

निधारमा टीका र कानमा जमरा लगाएर रमाएर बस्ने दिन भन्दै गीतमा साथीभाइ मिलेर गाउँघरमा टीका लगाउन, पिङ खेल्न जाने कुरा गरिएको छ। दाजुभाइ दसैँ मनाउन लाहुरबाट आएको र हजुरबाले खसी ल्याएको प्रसँग पनि जोडिएको छ।

खुसी समेटिएको गीतको भिडियोमा सुरेश कोहली र अस्मिता जुरेलीले अभिनय गरेका छन्। गीतकार तथा संगीतकार दीपकराजले नै निर्देशन गरेको गीतको भिडियो रोशन विश्वकर्माको कोरियोग्राफी र दिन्सन शाहको सम्पादनमा बनेको छ।

छैन खुसी मन
यस वर्ष सार्वजनिक दसैँ गीतमध्ये ‘छैन खुसी मन’ चर्चामा छ। गीतले आफ्नो गाउँ र परिवार छोडेर परदेसिन बाध्य नेपालीको कथा प्रस्तुत गरिएको छ। गीत तिलक बस्नेत र शान्तिश्री परियारले गाएका छन्।

एक पतिले पत्निलाई विदेशको भिसा आएदेखि घरबाट बिदाई गर्दासम्मको कारुणिक दृश्य भिडियोमा कैद गरिएको छ। ऋणले लागेर परदेसिन लागेका पतिले पत्नि छोडर जान मन नभएको वेदना पोखिएको छ। गायक तिलककै शब्द र संगीतमा बनेको गीतको भिडियोमा अशोक पौडेल, निरुता शाही र शान्ति सोडारी बिस्टकोअभिनय जीवन्त छ। विछोडिनु पर्दाको स्थिति कैद गरिएकोे उक्त भिडियो दर्शकले रुचाएका छन्।

रातो टीका

‘रातो टीका’ बोलको गीत यस वर्षको चर्चामा छ। बाबुल गिरीको शब्द र संगीत रहेको गीतमा उनकै स्वर छ। दसैँमा दिइने आशीर्वादसहित गीतमा मनको तुस फालेर रातो टीका र जमरा लगाएपछि सेल्फी खिच्न भनिएको छ। परदेशी दाई आएपछि परिवारमा छाएको खुसी, दसैँमा तेल मसला, खसी किन्ने जोहो पनि शब्दमा व्यक्त गरिएको छ। खुसीसँगै गीतमा आफन्त बितेका, आर्मी पुलिसका कर्मचारीले छुट्टी नपाएकाहरुलाई चाडपर्व आउँछ जान्छ भन्दै मन बुझाउन आग्रह पनि गरिएको छ।

गीतको भिडियोमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, प्रियांशु थापा, बिनिता बस्नेतलगायत कलाकारको अभिनय छन्। यो गीत फिल्म ‘परि-वार’ को हो। फिल्म मदन थापाको निर्देशमा निर्माण भइरहेको छ।

बसमा चढी आउँदै छु घर

अमृत सापकोटा र समीक्षा अधिकारीको स्वरमा ‘बसमा चढी आउँदै छु घर’ बोलको दसैँ गीत सार्वजनिक भएको छ। गीतमा दसैँ र तिहारमा घर फर्किन लागेका परिवारको खुसी समेटिएको छ। रमेश परियारको शब्द र संगीतमा बनेको गीतमार्फत दसैँ र तिहारमा बसमा चढेर आउन आग्रह गरिएको छ।

काजिश श्रेष्ठको कथा, कारियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा गोविन्द भट्टराई, निहारिका थापा र प्रकाश सापकोटाको अभिनय छ। भिडियोमा गाउँको रमणीय दृश्य कैद गरिएको छ।

आयो दसैँ तिहार

‘दसैँ आयो तिहारै आयो’ बोलको गीतमा चाडपर्वमा गाउँ फर्किन मन लागेको भाव व्यक्त गरिएको छ। गीतमा कृष क्षेत्री, टीका सानु, निर्मलादेवी बस्नेत, सन्तोष पन्थी र जमुना पुनको स्वर छ। गायक कृष क्षेत्रीकै शब्द र संगीत रहेको गीतमा कुमार सानु पुनको संगीत संयोजन तथा मिक्सिङ तथा मास्टरिङ छ।

गीतमा कर्मले जता लगे पनि दसैँमा गाउँकै झल्को आउने पनि भनिएको छ। परदेशमै भए पनि सबै मिलेर दसैँ मनाउने, खाडी मुलुकमा जति दुःख गरे पनि देशमा मर्न चाहाने र साहुको ऋण तिरेर फर्किने चाहाना रहेको भाव शब्दमा पोखिएको छ। गाउँमा आमा र प्यारीले पर्खिदैँ होलिन् भन्दै दसैँमा धानको बाला झुल्ने, सबै मिलेर लिंगे पिङ खेल्ने गरेको स्मरण पनि गरेका गरिएको छ।

तिलक ठकुरी ‘चिट्टी’को कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा उनीसहित बबिन सिंह ठाकुर, नञ्जिता सुनार, थमन सुनार, थमन कायल, मिना रसाइली, आशिष आर.एम र नुमा लिङ्देनले नृत्य गरेका छन्।

पहेली धानका बाला २

‘पहेली धानका बाला २’ बोलको दसैँ गीतमा चाडपर्वमा घर फर्किन नपाएका परदेशी र गाउँमा रहेका परिवारको भलाकुसारी समेटिएको छ। बहिनीले तिहारमा दाइलाई टीका लगाउन नपाएको, पर्वमा पति घर नआएको र छोरा नहुँदा चाडवर्प नै खल्लो भएको भाव व्यक्त गरिएको छ। साथै परदेशमा रहेका दाई र घरमा रहेकी बहिनीको वेदना पोखिएको छ। गीत प्रकाश थापा र देवी घतीले गाएका छन्। गीत प्रकाश थापा, राजेन्द्र शाह बिपि र अमर बिकले लेखेका हुन्।

प्रकाश र अमरले संगीत भरेको गीतमा विनोद बाजुरेलीको संगीत संयोजन छ। गीत सुदूरपश्चिमेली शैलीमा तयार पारिएको छ।

गौरव गिरीले निर्देशन गरेको गीतको भिडियोमा राजकुमार सिंह, सामिया कार्की, आरती बुढा, रामबहादुर शाही, मनबहादुर रावल, लक्ष्मी देवकोटा र रमेश केसीको अभिनय छ। गीतको भिडियोमा तिहारमा खेलिने देउसी भैलीलाई पनि समेटिएको छ।

दसैँ आयो खुसी र हर्ष

अजय थापा, अञ्जिता विश्वकर्मा, सुदीप बराम, सपना बराम र बाल गायिका निशा थापाको स्वरमा सार्वजनिक ‘दसैँ आयो खुसी र हर्ष’ बोलको गीत पनि चर्चामा छ। गीतमा ऋण लागे पनि चाडपर्व सँगै मनाउला भन्दै एक पत्निले परदेशमा रहेका पतिलाई फोेनमार्फत चाडपर्वमा घर फर्किन आग्रह गरिएको छ। गरिबीको पनि एक दिन आउने भन्दै पतिले केही समयपछि फर्किने बाचा गरेका छन्। गीतले गरिबी र अभावमा परदेशिएकाहरू घर नर्फकिँदा परिवारमा छाएको नैराश्यता प्रस्तुत गरेको छ।

टेकम पाण्डे जिज्ञासुको शब्द रहेको गीतमा गायक अजयले नै संगीत भरेका छन्। सञ्जय श्रीपालको संगीत संयोजन छ। गीतमा चाडपर्वमा गरिबलाई आँसुले रुवाउने र दुःखको अर्वपति भएकोले बालबच्चालाई ऋण खोजेर पर्व मनाउनु जस्ता शब्दहरू मार्मिक छन्। सञ्जय पाल्पालीले निर्देशन गरेको गीतको भिडियोमा हरिशरण पाठक, सम्झना चौलागाईं, सपना बराम र सुदिप बरामले अभिनय अभिनय गरेका छन्।

दसैँमा स्वामी परदेश

बिदुर घोरासैनी, आरके मिलन र शारदा रसाइलीको स्वरमा सार्वजनिक ‘दसैँमा स्वामी परदेश’ बोलको गीतले पनि चर्चा पाएको छ।  गीतमा पति परदेश भएपछि दसैँमा खुसी हुन नसकेको पीडा व्यक्त गरिएको छ। कामबाट छुट्टी नमिलेपछि बाध्यताले परदेश बस्नुपरेको परदेशीको पीडा पोखिएको छ।

प्रकाश पुरीको शब्द रहेको गीतमा गायक घोरासेनीले नै संगीत भरेका छन्। मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सुजन नेपाल, अनिशा विश्वकर्मा, कौशीला खड्का, गंगा अधिकारी, लाल बहादुर श्रेष्ठ, ध्रुव घोरासैनी र सीताराम चापागाईंको मार्मिक अभिनय छ।

जान्छु परदेश

सन्तोष केसी र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘जान्छु परदेश’ बोलको गीत पनि चर्चामा छ। गीतमा जनयुुद्दको समयमा पति अपांग भएपछि घर परिवार धान्न परदेश जान लागेकी एक पत्निको कथा प्रस्तुत गरिएको छ। पतिलाई एक्लै छोडेर जानुपरेको कारुणिक भाव गीतमा पोखिएको छ।

आफू अशक्त भएपछि पियारीले कसरी जीवन धान्लिन् भन्दै पतिले चिन्ता व्यक्त गरेका छन्। मार्मिक गीत गायक सन्तोषकै शब्द र संगीतमा बनेको छ। मौसम हिमालीको कथा र निर्देशनमा बनेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीले जीवन्त अभिनय गरेका छन्।

प्रकाशित: १२ असोज २०८२ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast